काठमाडौं, २९ फागुन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव कृष्णहरी पुष्करले स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूलाई १८ बुँदे निर्देशन दिएका छन् ।
कार्यसम्पादन तथा व्यवस्थापनमा स्थानीय तहको काम कारबाहीलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, जनउत्तरदायी, जवाफदेही र प्रभावकारी बनाउन सचिव पुष्करले निर्देशन दिएका हुन् ।
उनले स्थानीय तहबाट हुने काममा सुशासन कायम गर्न प्रशासकीय अधिकृतको भूमिका महत्त्वपूर्ण रहने भन्दै कार्यसम्पादन तथा व्यवस्थापनलाई थप प्रभावकारी, पारदर्शी तथा जनउत्तरदायी बनाउन निर्देशन दिएका हुन् ।
उनले करिब एक महिनाको कार्य अनुभव पछि स–साना विषयमा देखिएका द्विविधा र समस्या समाधानका लागि उक्त परिपत्र गरी स्थानीयको काम कारबाहीलाई सहज बनाउन खोजिएको बताएका छन् ।
परिपत्रमा स्थानीय तहमा कायम रहेको बेरुजु फर्छ्यौट गर्ने गराउनेदेखि कामकारबाहीमा कुनै द्विविधा भए संघ तथा सम्बन्धित प्रदेशसँग समन्वय गर्नेसम्म उल्लेख गरिएको छ ।


