काठमाडौं, २९ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनतालाई जागृत बनाउनका लागि शिक्षकको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।
सोमबार एकीकृत अखिल नेपाल शिक्षक संगठनको छैटौं राष्ट्रिय महाधिवेशनलाई उद्घाटन गर्दै उनले देशका गाउँगाउँ र टोलटोलमा रहेर राजनीतिक परिवर्तन र जनचेतना विस्तारका लागि शिक्षकले खेलेको भूमिकाको मुक्तकण्ठले प्रशंसा गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले शिक्षा क्षेत्र र शिक्षण पेशालाई व्यवस्थित बनाउन अझै धेरै काम बाँकी रहेको जिकिरसमेत गरे । उनले नेपालको राजनीतिका उच्च पदमा रहेका धेरैजसो व्यक्ति शिक्षक पृष्ठभूमिबाटै आएको स्मरण गरे ।
मुलुकको निर्वाचन प्रक्रिया अन्तिम चरणमा पुगेको उल्लेख गर्दै उनले अब आर्थिक सामाजिक तथा अन्य महत्वपूर्ण कामलाई अगाडि बढाइने जानकारी दिए ।
प्रधानमन्त्रीले हालैको मन्त्रिपरिषद्को बैठकले जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलनका शहीदलाई राष्ट्रिय शहीद घोषणा गरेको जानकारी दिँदै प्रधानमन्त्रीले सबै आन्दोलनको उचित सम्मान गरिएको बताए ।


