काठमाडौं, २९ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले संघीय शिक्षा ऐन जारी गर्न आवश्यक गृहकार्य अघि बढाइसकेको बताएका छन् ।
पद्मोदय माध्यमिक विद्यालयको हीरक महोत्वस एवम् ७७औँ वार्षिकोत्सवको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले संघीय शिक्षा ऐनमार्फत शिक्षाक्षेत्रका विद्यमान समस्या प्याकेजमै सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले शिक्षा, सामाजिक र सांस्कृतिक विकासको माध्यम मात्र नभएर देशको समृद्धि तथा विकासको महत्वपूर्ण पक्ष भएको बताए ।
शैक्षिक पाठ्यक्रमको पुनरावलोकन गरी शिक्षालाई जीवनोपयोगी, आधुनिक विज्ञान प्रविधि र व्यावसायिक बनाउन वर्तमान बदलिएको राजनीति एवम् सामाजिक व्यवस्थाअनुरुप पाठ्यक्रममा गुणात्मक सुधार आवश्यक भएको प्रधानमन्त्री प्रचण्डले बताए । सरकारी विद्यालयको गुणस्तर वृद्धिका लागि गुरुयोजना बनाएर काम गर्नुपर्ने उनको भनाइ छ ।
प्रधानमन्त्री दाहालले शिक्षाको विकास देश र जनताको सर्वाङ्गीण विकासको आधार स्तम्भ भएको उल्लेख गर्दै प्राविधिक शिक्षालाई जोड दिँदै विज्ञान, गणित र इन्जिनियरिङलाई माध्यमिक तहदेखि नै अनिर्वाय विषय बनाउँदै उच्च शिक्षालाई अनुसन्धानमुखी बनाउन आवश्यक भएको बताए ।


