जनकपुरधाम, २९ फागुन । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा उम्मेदवारी फिर्ता लिने समय आज रहेको छ ।
त्रिभुवन विश्वविद्यालयका अनुसार गत फागुन २७ गते उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरुका लागि अपरान्ह १ बजेसम्मका लागि उम्मेदवारी फिर्ता लिने समय सिमा छुटाईएको हो ।
कार्यतालिका अनुसार आज दिनको १ बजे उम्मेदवारको नाम फिर्ता लिने अन्तिम समय र दिनको २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ । उम्मेदवारको नामावली उपर दाबी विरोध गर्ने र छानबिन गरी उम्मेदवारको नामावली प्रकाशित गर्ने तालिका थियो । चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान हुनेछ ।
स्ववियु निर्वाचन चैत ५ गते हुनेछ भने शनिवार समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी नामावली दाखिला र प्रत्यक्षतर्फको उम्मेदवारको नामावली प्रकाशन गर्ने काम भएको थियो । उपत्यका र उपत्यका बाहिर ७–७ वटा क्याम्पसमा निर्वाचन प्रक्रिया भने रोकिएको छ ।
उपत्यकामा पाटन, नेपाल कमर्स, त्रिचन्द्र, सरस्वती, आयुर्वेद, आरआर, विश्व भाषा क्याम्पसमा निर्वाचन प्रक्रिया रोकिएको हो । त्रिचन्द्र र आयुर्वेद क्याम्पसमा भर्नाको समय सकेपछि नयाँ भर्ना लिएको भन्दै एक सातादेखि विवाद चल्दै आएको छ । विवादका कारण निर्वाचनको कुनै पनि काम अघि बढ्न सकिरहेको छैन । सरस्वती, आरआर, पाटनमा विद्यार्थी संगठनबीच आपसी द्वन्द्वका कारण समस्या बल्झिदै गएको देखिन्छ ।
त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालय प्रमुख प्रा. डा. पशुपति अधिकारीका अनुसार देशैरभका ६२ आंगिकमध्ये ५० भन्दा बढी क्याम्पसमा उम्मेदवारी दर्ता प्रक्रिया पूरा भएको छ । उपत्यका बाहिर पृथ्वीनारायण पोखरा, पाल्पा, चितवन, वीरगन्जको ठाकुरराम, सिराहा, धौलागिरि क्याम्पस वागलुङगलगायत केही क्याम्पसमा निर्वाचन अनिश्चित छ ।
यस क्याम्पसहरूमा कहिले निर्वाचन हुन्छ भन्ने अन्योलता कायमै छ । स्ववियु निर्वाचन निर्देशिकामा निर्वाचन स्थगित भएमा त्यसको ३० दिनभित्रमा निर्वाचन सम्पन्न गर्नुपर्ने बाध्यकारी व्यवस्था रहेको छ । ३० दिनभित्रमा निर्वाचनको दिन तोक्ने अधिकार क्याम्पस प्रमुखलाई दिइएको छ ।
६२ वटा आंगिक क्याम्पस मध्ये गोरखा क्याम्पस र धनकुटा क्याम्पसमा निर्विरोध स्ववियु नेतृत्व चयन भईसकेको छ । त्यस्तै सामुदायिक क्याम्पसतर्फ ५० भन्दा बढीमा निर्विरोध नेतृत्व चयन भएको निर्वाचन अधिकारीले जानकारी दिएका छन् ।


