काठमाडौं, २९ फागुन । आइसिसी विश्वकप क्रिकेट लिग–२ को अन्तिम सिरिजमा पपुवा न्यूगिनी (पिएनजी) विरुद्ध नेपाल ९ विकेटले विजयी भएको छ ।
पिएनजीविरुद्ध नेपालको यो कीर्तिमानी जित हो । यसअघि नेपालले पिएनजीलाई यति फराकिलो विकेटअन्तरले हराएको थिएन ।
सोमबार पिएनजीले दिएको ९६ रनको झिनो लक्ष्य नेपालले ७.४ ओभरमा १ विकेटको क्षतिमा भेट्टायो । नेपालको जितमा आसिफ शेखले २१ बलमा ८ चौका र ३ छक्कासहित अविजित ५३ रन बनाए ।
त्यस्तै, कुशल भुर्तेलले १४ बलमा ४ चौका र २ छक्कासहित ३३ रनको पारी खेले । कुशल मल्लले १३ बलमा एक चौका र एक छक्कासहित १२ रन जोडे । पिएनजीका लागि चाड सोपरले मात्र एक विकेट लिन सके ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पिएनजी ३२ ओभरमा ९५ रनमा अलआउट भयो । उसका लागि कप्तान असद भालाले २०, सेसे बाउले १८, चार्ल्स अमिनीले १६ र हिरी हिरीले १४ रन बनाए ।
बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । पिएनजीलाई सस्तैमा समेट्नेक्रममा सन्दीप लामिछानेले सानदार बलिङ गरे ।उनले १० ओभरमा एक मेडनसहित २५ रन दिएर ५ विकेट लिए । सन्दीपले तेस्रोपटक ५ विकेट लिएका हुन् । त्यस्तै, कुशल मल्ल, ललितनारायण राजवंशीले दुई/दुई र सोमपाल कामीले एक विकेट हात पारे ।
यो जितसँगै नेपालले लिग–२ को शीर्ष तीनमा रहेर सिधै एकदिवसीय विश्वकप छनोट खेल्ने सम्भावना जीवितै राखेको छ । अब बिहीबार हुने अन्तिम खेलमा यूएईलाई हराएमा नेपाल विश्वकप छनोटमा पुग्नेछ ।


