डब्लूपिएलमा मुम्बई इण्डियन्सको लगातार तेस्रो जित


एजेन्सी, २६ फागुन । भारतमा जारी वुमन्स प्रिमियर लिग (डब्लूपिएल) मा मुम्बई इण्डियन्सले लगातार तेस्रो जित निकालेको छ ।

तेस्रो जित निकाल्नेक्रममा मुम्बईले बिहीबार राति सम्पन्न खेलमा दिल्ली क्यापिटल्सलाई ८ विकेटले हराएको हो । आफ्नो तेस्रो खेलमा दिल्लीले दिएको १०६ रनको सामान्य लक्ष्य मुम्बईले १५ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो ।

उसका लागि यास्तिका भाटियाले ४१ र हेली म्याथ्यूजले ३२ रनको पारी खेले । नेट स्काइभर–ब्रन्ट २३ र कप्तान हरमनप्रीत कौर ११ रनमा अविजित रहे । दिल्लीका लागि एलिस क्याप्सी र तारा नोरिसले मात्र एक–एक विकेट लिन सके ।

त्यसअघि मुम्बईस्थित डिवाई पाटिल स्पोर्ट्स एकेडेमीको मैदानमा टस जितेर ब्याटिङ रोजेको दिल्ली १८ ओभरमा १०५ रनमै अलआउट भयो । उसका लागि कप्तान मेग ल्यानिङले ४३, जेमिमाह रोड्रिग्जले २५ र राधा यादवले १० रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

मुम्बईका लागि साइका इशाक, इस्सी वोङ, हेली म्याथ्यूजले तीन–तीन तथा पूजा वस्त्रकारले एक विकेट लिए । यो जितसँगै तीन खेलबाट मुम्बईले ६ अंक जोडेको छ ।

ऊ अंक तालिकाको शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको दिल्लीले तीनमध्ये दुईमा जित र एक खेलमा हारको सामना गरेको छ । जारी लिगमा ५ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार