काठमाडौं, २६ फागुन । चलचित्र ‘छक्का पञ्जा ४’ को ‘सिरुपाते जुंगामा’ बोलको गीत ट्रेन्डिङ नम्बर–१ मा परेको छ । दुईदिन अघिमात्र रिलिज भएको उक्त गीतलाई दर्शकले १२ लाख पटक हेरेका छन् ।
चलचित्र रिलिज अगावै गीत टिकटकमा भाइरल भइसकेको थियो । ट्रेलरमा राखिएको गीतको थोरै अंशले दर्शकको राम्रो साथ पाएको थियो ।
टिकटकमा भाइरल भएपछि चलचित्र रिलिज भएको केही समयमा नै उक्त गीत युट्युब सार्वजनिक गरियो। सार्वजनिक गीत अहिले ट्रेन्डिङको पहिलो स्थानमा छ ।
गीत जसरी नै चलचित्रले पनि दर्शकको सकारात्मक प्रतिक्रिया पाइरहेको छ । चलचित्र रिलिज भएको हप्ता बितिसक्दा पनि हलमा दर्शकको चाप घटेको छैन ।
दीपकराज गिरी, दीपाश्री निरौला, बेनिशा हमाल, निर्मल शर्मा, बुद्धि तामाङ, राज आचार्य, बेदना राई, सुष्मा निरौला लगायतका कलाकारहरुको अभिनय रहेको चलचित्रले घरेलु बक्स अफिसमा रेकर्ड राख्ने अनुमानसमेत धेरैले गरिरहेका छन् ।


