काठमाडौं, २६ फागुन । बेलायतको विदेश, कमनवेल्थ तथा विकास राज्यमन्त्री एन मरी ट्रेभेलियनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेकी छन् ।
विदेशराज्यमन्त्री ट्रेभेलियनले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेटेकी हुन् ।
भेटमा आपसी हित र द्विपक्षीय सम्बन्धका बारेमा चर्चा भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नेपाल–बेलायतमैत्री सन्धि–१९२३ एक सय वर्ष पुगेको उपलक्ष्यमा राज्यमन्त्री ट्रेभेलियनलको नेपाल भ्रमण भएको हो ।
यस क्रममा उनले अरुण तेस्रो परियोजना पनि अवलोकन गरेकी थिइन् । उक्त विद्युत परियोजनामा बेलायतले लगानी बोर्डमार्फत् आर्थिक लगानी गरेको छ ।
राज्यमन्त्री ट्रेभेलियनलको भ्रमणको दौरान १ सय वर्ष पुगेको उपलक्ष्यमा नेपालस्थित बेलायती दूतावासले बिहीबार एक कार्यक्रमसमेत आयोजना गरेको थियो ।


