काठमाडौं, २६ फागुन । माओवादी धारका पार्टीहरूले २८ फागुनमा संयुक्त पत्रकार सम्मेलन गरी शान्ति प्रक्रियाको उल्लंघन गर्ने खालका प्रवृत्तिहरूको खण्डन गर्ने निर्णय गरेको छ ।
शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी धारका नेताहरूको बैठकले सो निर्णय गरेको नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले जानकारी दिए ।
उनका अनुसार बैठकले शान्ति प्रक्रियालाई स्थापित गर्ने प्रक्रिया अघि बढाउन संयुक्त अपिल प्रकाशन गर्ने, संयुक्त पत्रकार सम्मेलन गर्ने र फागुन ३० गते नागरिक समाजसँग शान्ति प्रक्रियाको बारेमा अन्तरक्रिया गरिनेछ । गुरुङले पछिल्लो शान्ति प्रक्रियाको उल्लंघन गर्ने प्रवृत्ति देखिएकोप्रति आपत्ति जनाए ।
नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले द्वन्द्वकालीन घटनासँग सम्बन्धित मुद्दा नियमित अदालतबाट नभइ सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगबाट टुंगो लगाउनुपर्ने बताए । यी विषय पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइने पनि उनले बताए ।
द्वन्द्वकालीन घटनाको मुद्दामा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएपछि माओवादी घटकका नेताहरू नजिक भएका छन् ।



