एजेन्सी, २५ फागुन । रुसले युक्रेनका धेरै सहरमा ठूलो सङ्ख्यामा मिसाइल प्रहार गरेको छ ।
राजधानी किभको पश्चिमी र दक्षिणी क्षेत्रहरूमा आपत्कालीन सेवाका मानिसहरूलाई राहत र उद्धार कार्यमा खटाइएको छ ।
किभका मेयर भिटाली क्लित्सकोले एउटा आवासीय भवनको अगाडि जलिरहेको कारहरू देखिएको बताएका छन् । उनले सर्वसाधारणलाई सुरक्षित स्थानमा बस्न आग्रह गरेका छन् । समाचार एजेन्सी एपीको रिपोर्ट अनुसार यी हमलाहरूमा ५ जनाको मृत्यु भएको छ ।
खार्किभ र आसपासका क्षेत्रमा रहेको यो आवासीय भवनबाहेक महत्त्वपूर्ण स्थानमा रुसी पक्षबाट कम्तीमा १५ वटा मिसाइल प्रहार गरिएको छ ।
युक्रेनको दक्षिणी भाग ओडेसामा पनि क्षति पुगेको समाचार छ । युक्रेनको इनर्जी कम्पनीले यो हमलापछि जापोरिज्ह्या न्यूक्लियर प्लान्टबाट विद्युत् आपूर्ति बन्द भएको बताइएको छ ।
पश्चिमी सहर लवीभमा पनि विस्फोटको आवाज सुनिएको थियो । युक्रेनका १३ क्षेत्रमा हवाई आक्रमणको साइरन सुनिएको छ ।


