जनकपुरधाम, २३ फागुन । जनकपुरधाममा होली पर्वको अवसरमा आयोजित महामुर्ख सम्मेलनमा आफूलाई महामुर्खको उपाधी दिइयोस भन्ने ईच्छाका साथ जनकपुरधामको जानकी मन्दिरमा घण्टौसम्म प्रतिक्षारत रहेको बौद्धिक जमात देखियो । सो सम्मेलनमा आफूलाई महामुर्ख घोषित गराउनका लागि पैरवी समेत गरेका थिए । जसमा वडाध्यक्ष, मेयर देखि प्रदेशसभा सदस्यहरु समेत शामिल थिए ।
यिनीहरुका बिच मिथिला नाट्यकला परिषदले प्रत्येक वर्ष आयोजना गर्दै आएको महामुर्ख सम्मेलनमा महामुर्खको उपाधी प्राप्त गर्न जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह सफल भएका छन् । महामुर्खको उपाधी पाएपछि नगरप्रमुख साहको अनुहारमा अनौठो मुस्कान समेत देखियो । उनलाई प्रशस्ती पत्र, लाटोकोसेरोको मुकुट, मालाले सुशोभित गरी सम्मान गरिएको छ ।
संचारकर्मी ऋषि धमलालाई पटमुर्ख, संचारकर्मी वीरेन्द्र रमणलाई सोटाचन्द, मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसद मण्डललाई वैशाखनन्दन, नेतृ विभा ठाकुरलाई गन्धपसारैन, पूर्व खेलाडी अरुण लाललाई खबसुरता, शिक्षक संजय झा लोढाशंकर, बलराम साहलाई बज्रसोटा, अधिवक्ता रेखा झालाई मनटुटिया, रत्नेश्वरलाल कर्णलाई डपोरशंख, कवियत्रि किरण झालाई टुनमुसरी, मधेस प्रदेशको वन मन्त्रालयका कर्मचारी लालबाबु यादवलाई हराशंख, मोनाष्टिक विद्यालयका डा. सोनुकुमार साहलाई बज्रकिट लगायतको हास्यास्पद उपाधी प्रदान गरिएको थियो ।
सो सम्मेलनमा सहभागी कविहरुले आ–आफ्नो कविताको माध्यमले विभिन्न विषयवस्तु माथि कटाक्ष समेत गरेका थिए ।
महामुर्खको उपाधी दिने विगत २७ वर्षको परम्परा अनुसार यस अघि मिनापले कवि नरेश ठाकुर, मधेश प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री शत्रुधन महतो, तमलोपाको बरिष्ठ नेता डा. विजयकुमार सिहं, राजनीतिक विश्लेषक सीके लाल, नेकपा एकिकृत समाजवादीका नेता रामचन्द्र झा, वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमल, समाजसेवी पवन सिंहानिया, तमलोपाका अध्यक्ष वृषेशचन्द्र लाल, जनकपुरधाम उपमहानगरपालिकाका तत्कालिन प्रमुख लालकिशोर साह, मधेश प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत, मह जोडी अर्थात मदन कृष्ण श्रेष्ठ र हरिवंशल आचार्य र पछिल्लो वर्ष डा. भोगेन्द्र झालाई महामुर्खको उपाधी प्रदान गरि सकिएको छ ।


