मिनापको महामुर्ख सम्मेलन आज, को बन्लान महामुर्ख ?


जनकपुरधाम, २३ फागुन । जनकपुरधामको मिथिला नाट्य कला परिषदको दुई दिवसिय होरी महोत्सव अन्तर्गत आज महामुर्ख सम्मेलनको आयोजना गर्दैछ । होरी महोत्सव अन्तर्गत पहिलो दिन जोगिरा गायन प्रतियोगिता सम्पन्न भईसकेको छ भने दोस्रो दिन आज महामुर्ख सम्मेलनको आयोजना गरिने छ ।

होली पर्वको पौराणिक गाथाका विषयवस्तु, ख्यालठट्टा, प्रेमयुक्त र रस मिसिएका मैथिली भाषामा गाइने जोगिरा (फागु गीत) मिथिलाञ्चलमा लोप हुने अवस्थामा रहेको बेला त्यसलाई संरक्षण गर्ने उद्देश्यले मिनापले प्रत्येक वर्ष होरी महोत्सव र महामुर्ख सम्मेलनको आयोजना गर्दै आएको छ ।

जनकपुरधाममा मनाईने होली महोत्सवको प्रमुख आकर्षण मध्ये महामुर्ख सम्मेलन एक हो । होली पर्वको प्रमुख आकर्षण मध्येको महामुर्ख सम्मेलनका लागि जनकपुरधाममा महामुर्खको खोजी कार्य युद्धस्तरमा भइरहेको छ । यस वर्ष महामुर्खको उपाधीका लागि ३ जना प्रबल दावेदार रहेको मिनापका महासचिव शैलेन्द्र मल्लिकले जानकारी दिए ।

मिनापका महासचिव मल्लिकले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, सभामुख रामचन्द्र मण्डल र जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साह मध्ये कुनै एकजनालाई यस वर्ष महामूर्खको उपाधि प्रदान गरिने जानकारी दिएका छन् ।
जनकपुरधाममा २०६१ सालबाट महामूर्ख सम्मेलन हुँदै आएको छ ।

२०६१ सालमा महामूर्खको उपाधी मैथिली कवि नरेश ठाकुर, २०६२मा नेता शीतल झा, २०६३मा जनकपुरधाम नगरपालिकाका तत्कालीन नगरप्रमुख हरिबहादुर बिसी, २०६४मा तत्कालिन सदभावना पार्टीका नेता ओमकुमार झा, २०६५मा बरिष्ठ साहित्यकार डा. राजेन्द्र विमल, २०६६मा पूर्व मन्त्री एवं नेकपा एकिकृत समाजवादीका नेता नेता रामचन्द्र झा, २०६७मा नेपालका चर्चित राजनीतिक विश्लेषक सिके लाल, २०६८मा साहित्यकार रामभरोष कापडि़ भ्रमर, २०६९मा नेपाली काँग्रेसका नेता एवं प्रदेशसभा सदस्य रामसरोज यादव, २०७०मा तमलोपाका नेता डा. विजय कुमार सिंह, २०७१मा नेकपा एकिकृत समाजवादी पार्टीका नेता शत्रुधन महतो, २०७२मा श्मसान घाटलाई स्वर्गद्वार बनाएर चर्चा बटुलेका पवन सिंघानियालाई महामुर्खको उपाधी प्रदान गरिएको थियो भने २०७३ सालमा सप्तरीको मलेठमा एमालेले गरेको मेची महाकाली अभियानको क्रममा प्रहरीको गोली लागी ५ जनाको मृत्यु भएपछि अन्तिम समयमा होली महोत्सव कार्यक्रम नै मिनापले स्थगित गरेको थियो ।

२०७४ सालमा तमलोपाका अध्यक्ष वृषेशचन्द्र लाल, २०७५मा जनकपुरधाम उपमहानगरपालिकाका तत्कालिन नगरप्रमुख लालकिशोर साह, २०७६ सालमा मधेश प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत, २०७७ सालमा मह जोडी अर्थात मदन कृष्ण श्रेष्ठ र हरिवंशललाई महामुर्खको उपाधी प्रदान गरिएको थियो । २०७९ सालमा यो उपाधी डा. भोगेन्द्र झालाई प्रदान गरिएको थियो ।

महामूर्ख सम्मेलन नेपालको विभिन्न स्थानमा हुँदै आए पनि जनकपुरधाममा यसले निकै उचाई पाएको छ । तर यसको प्रारम्भ नेपालको विरगंजबाट भएको हो । मैथिली साहित्य परिषद विरगंज २०५० सालमा पहिलोपटक यो सम्मेलनको आयोजना गरेको थियो । पहिलो पटकको महामूर्ख लाला माधवेन्द्र जी भएका थिए । महामूर्ख सम्मेलन प्रकृतिको कार्यक्रम भारतमा पनि पहिले देखि नै हुँदै आएको छ ।

 

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार