काठमाडौं, २२ फागुन । देशभर होलीका विभिन्न कार्यक्रम आयोजना भएका छन् ।
यसरी आयोजना भएको कार्यक्रममा सेलिब्रेटीको पनि सहभागीता रहनेछ गरेको छ । यस्तैमा शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आएको फिल्म ‘छक्कापञ्जा ४’ युनिटले भने नयाँ बानेश्वर चोकमा आयोजित होली कार्यक्रममा सहभागीता जनाएको छ ।
कार्यक्रममा ‘छक्कापञ्जा ४’ का कलाकार दीपाश्री निरौला, निर्मल शर्मा, केदार घिमिरे लगायत सहभागी थिए । कार्यक्रममा सर्वसाधारणलाई रङ लगाइदिँदै उनीहरुले नाच्दै र गाउँदै शुभकामना समेत दिए ।
कार्यक्रममा दीपाश्री र माग्ने बुढाले हाँस्यव्यंग्य प्रस्तुतिमार्फत दर्शक हसाए भने केही कलाकारले गायन समेत प्रस्तुत गरेका थिए । सोही अवसर दीपाले फिल्म ‘छक्कापञ्जा ४’ को प्रचार गर्न समेत भ्याइन् ।
होली कार्यक्रमको आयोजना बानेश्वर व्यापार संघ, रेडियो अडियो र छक्कापञ्जा टोलीले मिलेर गरेको थियो । ‘छक्कापञ्जा ४’ हेमराज विसीले निर्देशित र नीर शाह, निर्मल शर्मा, बुद्धि तामाङ, राज आचार्य, सुष्मा निरौला, वेदना राई, मलिना जोशी, सविन बाँस्तोला, रमेश बुढाथोकी लगायतको अभिनय रहेको फिल्म हो ।


