कांग्रेस नगर कार्यसमिति जनकपुरधामको होली मिलन समारोह सम्पन्न


जनकपुरधाम, २२ फागुन । नेपाली कांग्रेस नगर कार्यसमिति जनकपुरधामले होली मिलन समारोहको आयोजना गरेको छ ।

सोमबार पिडरिया माईस्थानस्थित पार्टी कार्यालयमा कांग्रेसका केन्द्रीय, प्रदेश तथा जिल्लाका नेता कार्यकर्ता एवं युवाहरुको उपस्थितीमा होली मिलन समारोहको आयोजना गरिएको हो ।

नेपाली कांग्रेस नगर कमिटीका कार्यवाहक सभापती राकेश विक्रम साहको अगुवाइमा आयोजित कार्यक्रममा पूर्वमन्त्री रामसरोज यादव, धनुषा सभापति योगेन्द्र पजियार, पूर्वजिल्ला सभापतिहरु, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साह, उपमेयर किशोरी साह, महिला नेतृहरु, प्रेस युनियन आवद्व पत्रकारहरु सहितकाले होली मनाएका छन् ।

कांग्रेस धनुषाका सभापति पजियारले यस वर्षको फागुपूर्णिमा सबैका लागि सुखद होस् भन्ने कामना गर्दै सद्भाव पर्वको रुपमा मानिने होलीलाई सौहार्दपूर्ण तरिकाले मनाउन सबैसँग आग्रह गरे ।

कार्यक्रममा नेपाली कांग्रेस नगर कमिटीका कार्यवाहक सभापती राकेश विक्रम साहले भने, ‘भक्ति, ख्यालठट्टा, प्रेमयुक्त भाव र आपसी आत्मिय साट्न पाईने होली पर्व हामी तराईबासी बिशेष तरिकाले मनाउँछौ । संस्कृतिलाई बिकृतिमा बढावा दिने चलनले समाज बिग्रिरहेको अवस्थामा यसपालीको होलीमा हामी संस्कृतिलाई बचाउन अग्रसर होऔं ।’

उनले बढ्दो आधुनिककरण ढाल्न खोज्नु, मानिस संस्कृतिको अल्पज्ञानी हुनु, शहरीकरण हुनु र पुराना संस्कृतिको प्रबद्र्धनमा ध्यान नदिने गरेकाले होली जस्तो सद्भावपूर्ण पर्वको गरिमा घटदै गएको जिकिरसमेत गरे ।

संस्कृति र संस्कारप्रतिको गरिमा बढाउन यूवा पुस्ताको जमात जागरुक हुनुपर्ने आवश्यकता रहेको उनले बताए ।

 

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार