काठमाडौं, २१ फागुन । बंगलादेशको चट्गाउँ स्थित एक अक्सिजन प्लान्टमा विस्फोट हुँदा ६ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।
चट्गाउँ स्थित सिताकुण्डा स्थानमा रहेको अक्सिजन प्लान्टमा विस्फोट भएको थियो ।
विस्फोटपछि प्लान्टमा आगो लागेको थियो । अग्नि नियन्त्रक टोलीले गएराति आठ बजेतिर आगो नियन्त्रणमा लिन सकेको थियो । खोज तथा उद्धारको काम भने राति अबेरसम्म पनि जारी नै थियो ।
समाचार एजेन्सी रोयटर्सले जनाए अनुसार विस्फोटमा परी कम्तिमा ६ जनाको मृत्यु भएको छ भने घाइते भएका २२ जनालाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको प्रहरी अधिकृतहरुले जानकारी दिएका छन् । घटनाबारे पीडित परिवारलाई जानकारी दिन स्थानीय प्रशासनले सूचना केन्द्र स्थापना गरेको जनाएको छ ।
सन् २०२२ को ४ जूनमा बंगलादेशमा अक्सिजन प्लान्ट नजिकको बीएम कन्टेनर डिपोमा विस्फोट हुँदा ५० को मृत्यु भएको थियो । एजेन्सी


