काठमाडौं, २० फागुन । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरको नाम अहिले उपराष्ट्रपतिका लागि चर्चामा छ । यसअघि उनको नाम राष्ट्रपतिका लागि पटकपटक चर्चामा आए पनि सो चर्चाले मूर्त रुप पाउन सकेको छैन ।
आठदलीय गठबन्धनमा उपराष्ट्रपति जसपाले पाउने मोटामोटी सहमति भएको छ । आठदलीय गठबन्धनमै रहेको जनमत पार्टीका अध्यक्ष डाक्टर सीके राउतले पनि उपराष्ट्रपति आफ्नो दलले पाउनुपर्ने दाबी गरेका छन् ।
लोसपाका एक नेताले भने आठदलीय गठबन्धनमा राष्ट्रपतिबाहेक अरू कुनै विषयमा चर्चा नभएको तर उपराष्ट्रपतिमा महन्थको चर्चा अनावश्यक रहेको बताएका छन् । राष्ट्रपतिको चुनाव सकेपछि मात्र उपराष्ट्रपतिको विषय प्रवेश हुने उनको भनाइ छ ।
कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी जसपालाई उपराष्ट्रपति दिन सहमत भएको राजनीतिक वृत्तमा चर्चा छ । जसपाले रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाउने तयारी गरेको छ ।


