काठमाडौं, २० फागुन । राजतन्त्र पुनःस्थापनाको माग गर्दै देशव्यापी प्रदर्शन गरिरहेका व्यवसायी दुर्गा प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र शाह बानेश्वरमा उपस्थित नभएपछि ‘राजतन्त्र जिन्दावाद’को नारा नलगाउन आग्रह गरेका छन् ।
उनका समर्थकहरुले ‘राजा आऊ, देश बचाऊ’ भन्दै गरिरहेको नाराबाजी रोक्दै बानेश्वरमा आयोजित प्रदर्शनबाट प्रसाईंले सो नारा लगाउन रोक लगाएका हुन् ।
राजतन्त्रको पुनर्स्थापना चाहने हो पूर्वराजा शाह र उनका परिवारका सदस्यहरू पनि आफ्नो आन्दोलनमा सहभागी हुनुपर्ने सर्त राख्दै उनले नाराबाजीमा रोक लगाएका हुन् ।
हिन्दु राज्य कायम गर्नुपर्ने, संघीयता खारेज गर्नुपर्ने, लघुवित्त आतंक, आर्थिक संकटका कारण आत्महत्या गर्नुपर्ने अवस्था, बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजको अन्त्य हुनुपर्नेलगायतका एजेण्डा राखेर आन्दोलन सुरु गरेका हुन् ।
पूर्वराजा ज्ञानेन्द्र शाहलाई मञ्चमा राखेर झापाबाट सुरु भएको आन्दोलन भैरहवालगायतका देशका विभिन्न ठाउँमा सम्पन्न भएर काठमाडौं आइपुगेको हो ।
माओवादी छाडेर एमाले प्रवेश गरेका प्रसाईंले हाल सो पार्टी पनि परित्याग गरी उनी अलग अभियानमा सक्रिय छन् ।


