–प्रफुल्ल घिमिरे
जनकपुरधाम, २० फागुन । मिथिला भूमि संसारको भूस्थलमा सर्वोत्कृष्ट तपोभूमि हो । राजर्षि शीरध्वज जनकले राज्यमा खडेरी पर्दा गरेका हलेश्वरी यज्ञमा स्वर्णका हलोले भूमि जोत्दा आदिशक्ति सीता बैशाख नवमीका दिन यसै भूमिबाट प्रकट भएकी हुन् ।
मिथिला महात्म्यमा उल्लेख भए अनुसार गंगादेखि हिमालयसम्म ६४ कोस चौडाइ र कोशीदेखि गण्डकीसम्म ९६ कोष लम्बाइ क्षेत्रफलमा सौन्दर्यले भरिएको देवभूमि एंव तपोभूमि हो मिथिला ।
यो भूमि देवी देवताहरुको प्रियस्थलको रुपमा रहिआएको छ । यसलाई वृह्त विष्णु पुरानमा बैकुण्ठधामको रुपमा वर्णन गरिएको छ । यस भूमिबाट दर्शन शास्त्रहरुको प्रतिपादन र विस्तार भएका छन् । ठूल–ठूला योगी, ऋषि–महर्षिहरुको आश्रमस्थल रहेको, कर्मस्थल बनेको, तपोभूमी–सिद्ध भूमि शक्तिपीठको रुपमा पुज्यनीय बन्दनीय रहेको छ ।
त्यसैले मिथिलाप्रति प्रसिद्ध तीर्थस्थलको रुपमा संसारकै हिन्दू सनातन धर्मावलम्बीहरुको अगाध आस्था रहेको छ । यसै आस्था एवं मान्यताले गर्दा मोक्ष प्राप्ति एवं पूण्य आर्जनकालागि यस भू–भागको परिक्रमा हिन्दु धर्मावलम्बीहरुले विश्वासका साथ गर्ने गरेका छन् ।
भगवान राम र आदिशक्ति सितासँग सम्वद्ध रहेका बैकुण्ठधामकै स्वरूपमा रहेका मिथिला क्षेत्रका स्थलहरु, यस भू–भागका जलाधी एवं तलाउहरुमा नुहाउँदा ,पानी खाँदा (सेचन गर्दा), दर्शन गर्दा पाप नष्ट भएर बैकुण्ठधाम प्राप्त हुने र मनुष्यले पुनर्जन्म लिनु नपर्ने धार्मिक मान्यता रहि आएको छ ।
मिथिला भू–भागको परिक्रमा तीन प्रकारका छ्न । वृहत् परिक्रमा, मध्यमा परिक्रमा र लघ्वी परिक्रमा । वृहत परिक्रमा सम्पूर्ण मिथिला राज्यको परिक्रमा हो भने मध्यमा परिक्रमा राजधानी (किला) को र लघ्वी (लघु) अर्थात अन्तरगृह परिक्रमा राजदरवार (महल) को परिक्रमा हो ।
बृहत परिक्रमा : वृहत परिक्रमा परापूर्वकालको मिथिला राज्यको वा भनौं सम्पूर्ण मिथिला भू–भागको हो । जनकपुर मीमांसामा उल्लेख भएअनुसार यो परिक्रमा मंसिर महिनामा गर्ने गरिन्छ । नियमानुसार कोशी र गंगाको संगमस्थलमा स्नान गरेर सिंधेश्वर महादेवको दर्शन गरेर प्रारम्भ हुन्छ । सीतारामको ध्यान एवं भजन गर्दै गंगाको तटैतट परिक्रमा गर्दै पश्चिमतर्फ जाँदा गंगा र गण्डकको संगमस्थलमा पुगिन्छ । सो संगममा स्नान गरेर हरिहरनाथ हरिहर क्षेत्रको दर्शन गर्नुपर्छ र पश्चिम् बढ्दै जाँदा बगहा छेउमा जटेश्वरनाथको दर्शन गरिन्छ ।
भैंसालोटन वाल्मीकि आश्रम हुँदै देवघाट पुगिन्छ । जलेश्वरनाथको दर्शन गरिन्छ । रोशी कोशीको संगममा स्नान गरेर कुशेश्वर नाथको दर्शन गरिन्छ । ताम्र कोशी र सुनकोशीको संगममा स्नान गरेर वैणेश्वर महादेवको दर्शन गरिन्छ । यसपछि अगाडि बढ्दै गएमा दुग्ध कोशी सुनकोशीको संगममा स्नान गरेर दुग्ध ईश्वरनाथको दर्शन गरिन्छ । सोही मार्गमा अरुण कोशी र अन्य कोशिको संगम छ । त्यहाँ जनक ईश्वरनाथ आशुतोष भएर रहेको मान्यता छ ।
यसरी सिधेंश्वर महादेवको दर्शन गर्दै गंगाको तट हुँदै कोशी –गंगा , गण्डकी–गंगाको संगम स्थलहरुमा स्नान गर्दै गंगाको तट हुँदै हिमालय को तलको फाँट भएर कामेश्वरनाथ महादेवको दर्शन पश्चात् अन्तमा पुनः सिंधेश्वर महादेवको दर्शन गरेर वृहत परिक्रमा समापन गरिन्छ । यो गंगा देखि हिमालय सम्म चौसठ्ठी कोस चौडाई र कोसि देखि गण्डक सम्म चौरानब्बे कोस लम्बाई रहेको देवभुमी तपोभुमी मिथिला राज्यको ठूलो परिक्रमा मार्ग निश्चित गरिएको छ । यो परिक्रमामा अधिक समय लाग्ने भएकाले ऋृषि मुनि सन्त भक्तजनहरु आज पनि मण्डली बनाइ परिक्रमा गर्ने गर्दछ्न ।
मध्यमा परिक्रमा : यस परिक्रमालाई मिथिला बिहारीको परिक्रमा, मध्यमा परिक्रमा,पञ्चाहिनी परिक्रमा, पञ्चकोशी परिक्रमा, पन्द्रहदिने परिक्रमासहितको नामले सम्बोधन गर्ने गरिएको छ ।
पञ्चाहिन मध्यमा परिक्रमा : परापूर्वकालमा यस मध्यमा परिक्रमालाई पाँच दिनमा सम्पन्न गर्ने गरिन्थ्यो । अहिले पनि कतिपय श्रद्धालु भक्तजनहरु यो परिक्रमा गर्ने गर्छन । यसरी पाँच दिनमा गरिने परिक्रमालाई पञ्चाहिनको परिक्रमा पनि भनिन्छ ।
कल्याणेश्वरबाट प्रारम्भ गरेर गिरजा स्थानमा निवास गर्ने, फेरि जलेश्वरबाट क्षिरेश्वरनाथ जाने अनि धनुषाधाममा विश्राम गरेर पुनः कल्याणेश्वर जाने यसरि पाँच दिने परिक्रमाको वर्णन गरिएको छ ।
जनकपुर धामको चारै तर्फ पाँच कोशको दूरिमा परिक्रमा गरिने भएकोले पंचकोशी परिक्रमा पनि भनिने गरिएको छ । अष्टमी तिथिका दिन कल्याणेश्वरबाट चार कोश पश्चिम माता सीताले प्रत्येक दिन पूजा गरिने ईष्टदेवी गिरिजा माता विराजमान रहेकी गिरिजा स्थानमा विश्राम गरिन्छ । नवमीका दिन स्नान ध्यान गरेर गिरिजा माताको पूजा अर्चना पश्चात् भक्तजनहरु चार कोष पश्चिम जल भित्र विराजमान रहेका जलेश्वरनाथ महादेवका स्थान जलेश्वरमा विश्राम गर्ने गर्छन ।
दशमीको दिन दस कोश परिक्रमा गर्दै सिद्ध क्षीरेश्वर नाथ महादेवको वासस्थान क्षीरेश्वरनाथमा विश्राम गर्दछन् । त्यसपछि एकादशिका दिन आठ कोश परिक्रमा गर्दै धनुष खण्डको अवशेष रहेको स्थान धनुषा धाममा वास बसिन्छ । द्ववादशिका दिन त्यहाँ अवस्थित बाण गंगा, पवित्र तलाउहरुमा स्नान एवं सेचन गर्दै धनुषाधामको दर्शन गरेर नौ कोश परिक्रमा गर्दै पुनः कल्याणेश्वरमा पुगेर आफ्नो संकल्प पूरा गर्दछन् । अघिल्लो तिथिमा ऋषि विश्वामित्रको आश्रम स्थल हुँदै जनकपुरधाम आउने परम्परा रहेको छ ।
जनकपुरधाम र मिथिला परिक्रमाका धार्मिक महत्व एंव परिक्रमा गर्ने पद्धतिहरुका सम्बन्धमा शास्त्रहरुमा उल्लेख भएता पनि विलुप्त अवस्थामा रहेको जनकपुरधामलाई सिद्ध महात्मा द्वय श्री चतुर्भुज गिरि र श्री सुर किशोर दासज्युले जनकपुरधामलाई पूनः प्रकाशमा ल्याएपछि यसै समयमा आर्यवर्त भारत क्षेत्रका ग्वालियर जिल्लाको पनियांर गाउँमा जन्मेका सिद्ध महापुरुष “जय सीयाराम जय जय सीयाराम “नाम ध्वनिका प्रचारक परम् परिव्राजकाचार्य, बालब्रह्मचारिअनंत श्री स्वामी श्री सीयालाल शरण “श्री प्रेमलताजी“ महाराजको जनकपुरधाम आगमन भयो।
सितारामको दिव्य दर्शनबाट प्राप्त निर्देशनद्वारा वहाँले शास्त्रीय आधारमा पूनः परिक्रमाको प्रारम्भ गरेको कुरा मधुकर कुञ्ज कुटि रामानन्द चोकका वर्तमान महन्त श्री राम सिया शरण बैष्णवजीले भन्नु भएको छ । श्रीसीयारामका परम भक्त महात्मा श्री परमहंस श्री सीयालाल शरणजीले नै सर्व प्रथम शास्त्रहरुमा उल्लेखित जनकपुरधाममा लुप्त अवस्थामा रहेका तिर्थहरुको खोज गरेर कूप, सरोवरहरुको पत्ता लगाएर सबैलाई जिर्णोद्धार गराएर प्रत्येक सरोवरकोबीचमा काठको खम्बा गाड्न लगाएका थिए ।
यी कार्य सम्पन्न पश्चात् यिनले मध्यमा परिक्रमालाई पून: सञ्चालन गर्न तर्फ लागे । हिंसक पशुहरुले भरिएको भयावह जगंलमा स्पष्ट मार्गको निश्चित नभएको अवस्थामा यिनले ढोलक झालमा “जय सीयाराम जय जय सीयाराम“ ध्वनि मा अखण्ड किर्तन गर्दै पचास जना साधु सन्तको टोलि लिएर शास्त्रमा उल्लेखित परिक्रमाको पून: प्रारम्भ गरे । परिक्रमा प्रारम्भ भएको समयमा केहि शिष्यहरु जंगलमा हिंसक जनावरहरुको शिकार हुन पुग्दा उनले अगामी परिक्रमा नगर्ने मनशाय बनाउँदा उनलाई भगवान सीतारामको स्वप्न दर्शन भयो । स्वप्न दर्शनमा अब देखि केही नहुने भनिएपछि युगल मूर्तिका साथ परिक्रमा गर्ने निधो गरे ।
सीयाराम ध्वनिका प्रचारक यिनले युगल मुर्तिकालागि चारैतिर आग्रह गर्दा प्राप्त नहँुदा अन्त्यमा मिथिला बिहारीजी को युगल मुर्तिका साथ परिक्रमा सञ्चालनमा ल्याए । यस पश्चात् श्रीकिशोरिजिको डोला उठ्न थाल्यो । र अन्य डोलाहरु पनि उठ्न थालेको हो । आज पर्यन्त मधुकर कुञ्जबाट निरन्तर रुपले टाउकोमा परिक्रमा सरकारका रुपमा साधु सन्तका माझमा पुजनीय रहेका श्री परमहँस सिद्ध महात्मा श्री सीयालाल शरणजिको तस्वीर राखेर गर्ने गरेको कुरा मधुकर कुञ्जका महन्त राम शिया शरण बताउनु हुन्छ।
पञ्चाहिन (पाँच दिने) परिक्रमाको पडाव धेरै टाढा पर्न गएकोले भक्तजनहरुको सेवार्थ एंव कल्याणार्थ साधु सन्तहरुले वर्तमानमा पन्द्रह दिने परिक्रमाको प्रारम्भ गरेका छन् । पछि गएर यो परिक्रमा सीता कुण्डवाट नै उठ्ने गर्दथ्यो । सीता कुण्डका महन्त पण्डित श्री वैष्णब शरणजी थिए । यसै स्थानका गुरु भाइ लाडली शरण कचुरी स्थानका महन्त भए ।
पछि मिथिला बिहारिका युगल मूर्ति कचुरी स्थानमा लगिए । यहि प्राचीन मूर्तिहरु कचुरी स्थानबाट डोलामा राखी पूजा अर्चना गरेर पन्द्र दिनको परिक्रमाको नेतृत्व गराउँदै डोला परिक्रमाको लागि निस्कने गरेको छ । यो डोला परिक्रमाको मार्गमा गाउँ गाउँमा विश्राम अड्दै देव देवि , ऋषि–मुनिका आश्रम स्थलहरुमा विश्राम गर्दै अन्तमा पन्द्र दिनमा जनकपुरधामको अन्तगृह परिक्रमा गरेर अन्तिम विश्राम गर्दछ ।
भनिन्छ–मिथिलाका राजकुमारी सीतासंग अवधका राजकुमार दुल्हा श्रीराम विवाह गर्न जन्तीका साथ आएका बेला उनको डोला गाउँ घर हुदै देवी देवता स्थल पीठ, थान, डीह, ऋषि आश्रम, बन ,नदिको दर्शन गर्न घुमेको हुँदा सो ठाउँहरुको परिक्रमा गर्न सुरूवात भएको हा भने सोही समयदेखि मिथिलामा आज पनि बिवाह गर्न आएका दुल्हालाई गाउँ घरका देवी देवताको दर्शन गराउने चलनको प्रारम्भ भएको मानिन्छ ।
पन्द्रह दिने मध्यमा परिक्रमा ः मिथिला बिहारी भगवान श्रीरामलाई भनिन्छ । भगवान श्रीराम ( मिथिला बिहारी) को नेत्रुत्वमा यो परिक्रमा प्रारम्भ हुन्छ ।
पन्द्र दिने मध्यमा परिक्रमाको पनि आफ्नै किसिमको विधि रहेको छ । फागुन औंसीका दिन धनुषा जिल्लाको कचुरी गाउँमा अवस्थित मिथिला बिहारिको मन्दिरमा विराजमान रहेका मिथिला बिहारी राम र सिताको मूर्ति डोलामा सजाएर राखिन्छ । पूजा अर्चना गरिन्छ । मिथिला बिहारिको डोला राजा जनकको खजाना रहेको जनकपुरधामको रत्नसागर स्थानमा पुग्दछ ।
यहाँ डोलाको पूजा पाठ एंव आरति गरिन्छ । साधु सन्त ,भक्तजनहरुलाई खाना खुवाइन्छ र यहाँबाट डोला मधुकर कुञ्ज रामानन्द चोकमा पुग्दछ । यहाँ पूजा पाठ भोग आरति विदाई गरिन्छ । यहाँबाट डोलालाई जानकी मन्दिर पु¥याएर पूजा पाठ आरती गरेर डोलाको स्वागत गरिन्छ । पाँच पद रामायणको सुनाएर डोलालाई बिदा गरिन्छ । डोला जानकी मन्दिरको परिक्रमा गरेर हनुमान गढिकालागि प्रस्थान गर्दछ ।
जनकपुरधामबाट दक्षिण हनुमान गढि (हनुमान नगर )हनुमानजिको मन्दिरमा पूण्जा पाठ अर्चना गरेर डोलाको स्वागत गरिन्छ । परिक्रमाको पहिलो रात्रिविश्राम यहिँ हुने गरेको छ । यहाँ भक्तजनहरु सीतारामको दर्शन गरेर बिशाल रुपमा रहेका साक्षत महावीर हनुमानजिबाट आशीर्वाद ग्रहण गर्दछन् ।
फागुन परेवाका दिन हनुमान नगरबाट चार कोश दक्षिण पूर्व हुँदै भारतको मधुबनी जिल्लामा अवस्थित कल्याणेश्वर स्थानमा पुगेर डोलाको विश्राम गराइन्छ जहाँ सबैलाई कल्याण गर्ने सिद्धि प्रद लिङ्ग कल्याणेश्वर महादेव विराजमान छन् । यस महादेवलाई जनक राजाले स्थापना गरेको धार्मिक मान्यता रहिआएको छ ।
त्यसपछि भोलिपल्ट मधुवनी जिल्लामै अवस्थित गिरिजा स्थानमा डोलालाई विश्राम गराइन्छ । यहाँ आदिशक्ति सीताकी इष्ट देवि सिद्धी दायक गिरिजा बिराजमान रहेकि छिन ।
तृतीयाका दिन यहाँबाट साढे चार कोष पश्चिम परिक्रमा गर्दै डोला वैष्णव पीठ मठिहानी (मृत्खनी) पुग्दछ । राति यहिँ विश्राम गरिन्छ । यहाँ लक्ष्मीनारायण विराजमान रहेका छन् । सीताजिको मटकोर ( बिहेको बेला माटो खन्ने विधि) यहिँबाट पवित्र माटो खनी लगिएर गरिएको थियो । त्यसैले यस ठाउँको नाउँ मृत्खनी हुन पुग्यो। यस बैष्णव पीठमा लक्ष्मीनारायणको ध्यान गरिन्छ । सिद्ध पुरुष संत तसमैया बाबाको स्मरण गर्दै किर्तन भजन गरिन्छ ।
चतुर्थीका दिन मृत्खनी सरमा तथा बिरजा (बिगहि) र दुग्धमतिको संगममा स्नान गरेर लक्ष्मी नारायणको पूजा आजा गरि यहाँबाट परिक्रमा गर्दै चार कोस पश्चिम जलेश्वर स्थानमा डोलालाई विश्राम गराइन्छ ।
पंचमीका दिन जलेश्वरमा जलेश्वर नाथ महादेवको दर्शन गरेर भक्तजनहरु डोला संगै परिक्रमा गर्दै यहाँबाट तीन कोस उत्तर मडइ स्थानमा विश्राम गर्दछ्न । भनिन्छ राजा जनकको यज्ञ गर्ने मण्डप र माण्डव्य ऋषिको आश्रम यहिँ थियो र उनकै नाम अप्रभंस मडइ बन्न पुगेको हो ।
षष्ठीका दिन माण्डव्य ऋषिको आश्रम मडइबाट तीन कोस उत्तर परिक्रमा गर्दै डोला धुर्वले तपस्या गरेको स्थल (तपोभूमि) धुर्व कुण्डमा विश्राम गर्दछ । परापूर्वकालमा ऋषि मुनीहरुले आफ्ना साधन स्थल यहिँ बनाएका थिए । यहाँ भक्त धुर्वजिको मन्दिर र कुण्ड अवस्थित छ । यस स्थल भएर रत्नावती (रातो) नदि बग्दछिन् ।
धुर्वको दर्शन गरे पश्चात् पाँच कोश उत्तर पूर्व परिक्रमा गर्दै डोला भक्तजनसहित कञ्चन वनमा विश्राम गर्न पुग्दछ । परापूर्वकालमा रहेको यस विशाल वन भित्र १२ प्रकारका वनहरु थिए । यस अरण्य वन भित्र रहेका कदलि वन ताल वन , तयाल वन अनार वन, केतकी वन, चम्पक वन, कुमुद वन, कदम्ब वन, लवङ्ग वन , सरोज वन, सन्तान वन, भन्रा वन, शृङ्गार वनहरुको शोभायामान क्षेत्रमा ऋषिहरु तपस्यामा समर्पित रहन्थे।
जहाँ बेला बखतमा ऋषिहरुको सम्मेलन हुने गर्द्थ्यो। उपनिषद्हरुको रचना पनि यसै वन भित्र भएको मानिएको छ । भनिन्छ – खुशी भएर राजा जनकले कञ्चन यहिँ लुटाएका थिए रे ! भगवान रामले संगीहरुसंग होलिकोत्सव यहिँ ठाउँमा मनाएका थिए। रामको इच्छा अनुसार इच्छावती गंगा नदिको उत्पत्ति होली मनाउनकालागि भएको थियो। यहाँ इच्छावती गंगा र बिरजा गंगाको संगम पनि छ। आज पनि यसको पानीमा रातोपन देखिन्छ । भक्तजन परिक्रमावासिहरु पनि यस स्थलमा भगवान रामले फागु खेलेको मान्यता अनुसार नचारी, भजन कीर्तन गीत गाएर रात–रातभर धूमधामका साथ फागु खेल्दछन । यहाँ अरिकंचनको तरकारी अनिवार्य रुपले परिक्रमा वासिहरुले खाने परम्परा रहिआएको छ ।
त्यसपछि क्षीरेश्वर स्थानमा डोला केही समय विश्रामको लागि पुग्दछ । यहाँ सिद्ध क्षीरेश्वरनाथ महादेव विराजमान रहेका छ्न। क्षीरेश्वर सागर एंव जलाधी नदिमा स्नान वा मार्जन गरि क्षीरेश्वर महादेवको दर्शन गर्ने गरिन्छ । यहाँबाट सोही दिन पुनः दुई कोश पूर्व दक्षिण परिक्रमा गर्दै पर्वता पुगेर डोलाले विश्राम गर्दछ ।
परा पूर्वकालमा रहेका पाँचवटा पहाड मध्येको एक पर्वत यहिं थियो भनिन्छ । जहाँ अहिले कुण्डको रूपमा रहेको छ । नवमीका दिन यहाँ रहेको कुण्डमा स्नान गरेर पर्वता मन्दिरको दर्शन पश्चात् यहाँबाट अढाई कोस पूर्वतिर परिक्रमा गर्दै डोला धनुषाधाममा विश्राम गर्दछ । यसै स्थलमा धनुष यज्ञ भएको थियो । भगवान रामले शिवका पिनाक धनुष भाँचेका थिए ।
सोही धनुषको एक टुक्रा धनुषा धाममा पत्थरको रुपमा विराजमान रहेको छ । धनुष खण्डको छेउमा रहेको वट वृक्ष मुनि अचम्मको प्राचीन एउटा प्वाल छ । त्यसमा जति दुध पानी भरिदिएता पनि पानी माथिको प्वाल सम्म नै रहिरन्छ । मिथिला महात्म्यमा उल्लेख भए अनुसार यसको दर्शन गर्दा रामेश्वर धामको दर्शनको फल प्राप्त हुन्छ । त्रेता युगको अवशेष आज पनि यहाँ सुरक्षित अवस्थामा रहेको छ ।
त्यसपछि भक्तजनहरु डोला संगै धनुषबाट साढे चार कोस दक्षिणमा रहेको सप्तऋषि आश्रम सतोषर पुगेर रात्री विश्राम गर्दछन् । यहाँ सप्तऋषिहरुले तपस्या गरेका थिए । आकाश पिण्डमा रहेका सप्तर्षि ताराहरु झैं समान रुपमा यहाँ सातवटा तलाउहरु सात स्थानमा रहेका छन् । यहाँ याज्ञवल्क्य ऋषिले पनि तपस्या गरेका थिए । याज्ञ्वल्क्य ऋषि नित्य कमलामा स्नान गर्ने गदर्थे । यहाँ राम पञ्चायतन, भैरवनाथ , शक्तिपिठ छन् । कुशमाहा महादेव कुशेश्वर नाथ विराजमान छन। धनुषाबाट कमला पुगेर स्नान गरि सतोषर पुग्दा भक्तजनहरुलाई पाँच कोस परिक्रमा गर्नुपर्ने हुन्छ ।
एकादशिका दिन सतोषरवाट पाँच कोस दक्षिण औरही हरसाहा पुगेर डोलाले विश्राम गर्दछ । हर्षमुनि ऋषिले यहिं आश्रम बनाएर बसेका थिए । त्यहाँबाट बग्ने बिमला नदीको स्नानलाई महत्वपूर्ण मानिएको छ । रामघाटमा रक्तमाला देवीको पूजा भगवान रामले गरेका थिए। सीता अयोध्या जाँदा यसै स्थानमा रुकेकी थिइन। यस दिन एकादशी तिथि पर्ने भएकोले परिक्रमा गर्ने सबैले एकादशी व्रत गर्दछन्। भगवानलाई पूजा पाठ भोग राग गराएर साँझ पख विभिन्न प्रकारका फलफूल परिक्रमावासीले फलाहार गर्ने गर्छन् ।
तत्पश्चात पुनः परिक्रमा भारतको बिहार राज्यको करुणामा विश्राम गर्न पुग्छ । यहाँ कौन्डिल ऋषिको आश्रम थियोे । कौन्डिल ऋषिको आश्रमबाट नै यस ठाउँको नाउँ करुणा पर्न गयो ।
फागुन त्रयोदशिका दिन करुणाबाट पुनः कल्याणेश्वर (कलना) पुगेर महादेवको दर्शन गरेर संकल्प पूरा गरेर त्यहाँबाट अढाई कोस पश्चिम उत्तर भारतको बिसौलमा रात्रि बिश्राम गरिन्छ । भक्तजनहरु यस दिन यस स्थलमा करि र बेसनको बडी खाने गर्दछन् ।
फागुन चतुरदर्शिका डोला जनकपुरधामको गंगा सागरको पश्चिम डिलमा विश्राम गराइन्छ भने श्रीकिशोरीजिको लगायत अन्य डोलाहरु रंगभूमी मैदानमा बिश्रामकालागि राखिन्छ । डोलाको आगमन संगै गंगा सागर र रंगभूमीमा दर्शन गर्ने भक्तजनहरु ओइरो नै लाग्ने गर्दछ ।
भोलिपल्ट पुर्णिामाका दिन डोला संगै पन्द्र दिने परिक्रमाका भक्तजन अनिवार्य रूपमा अन्तर गृह परिक्रमा अर्थात नगर परिक्रमा गर्दछन् र डोलाहरुलाई आ–आफ्ना स्थानमा पुर्याएर पन्द्रह दिनको परिक्रमाको समापन गर्छन् ।
अन्तरगृह परिक्रमा : जो भक्तजनहरु आशक्त या अन्य कारणले अरु परिक्रमा गर्न सकेनन् तिनीहरुले यो परिक्रमा गर्नु पर्छ । यो परिक्रमा गर्दा गंगा सागरलगायत यहाँ रहेका विभिन्न धार्मिक सरहरुमा स्नान वा सेचन गर्दै राम जानकी मन्दिर एवं विभिन्न देवी देवताको मन्दिरमा दर्शन गरेर कदम चोकमा पुग्दछन् ।
पहिले त्यहाँ विशाल कदमको रुख थियो । हाल त्यहाँ पञ्चमुखी हनुमानजिको मूर्ति स्थापना गरिएको छ । सो क्रममा कदम चोकमा पुगेर आफूले राखेको निशानी (पत्थर ) हटाए पश्चात् लक्ष्मण सागरमा सेचन गरेर लक्ष्मण अखाडामा गदाको दर्शन गरेर सो स्थानको धुलो उडाएर परिक्रमा समापन गरिन्छ ।
मिथिलाको परिक्रमा गर्नाले पशुपति नाथ, मुक्तिक्षेत्र, बैधनाथ धाम, हरिद्वार, द्वारिका, बृन्दावन, मथुरा, प्रयाग, कोसि, बद्री, गंगा, जग्गानाथपुरी, रामेश्वरम, कुरुक्षेत्र आदि क्षेत्रमा वर्षौं गरेका बास, पुजा धर्म कर्मले जुन फल प्राप्त हुन्छ सोही फल प्राप्त गर्दछन् । मिथिला परिक्रमाको धार्मिक मान्यता संसारकै सबै तिर्थहरु भन्दामाथि रहेको महिमा गरिमा शास्त्रहरुले बताएका छन् ।


