एजेन्सी, १८ फागुन । बलिउड अभिनेत्री सुष्मिता सेनलाई हृदयाघात भएको छ । उनले इन्स्टाग्राम अकाउन्टमार्फत् यसबारे जानकारी दिएकी हुन् । ४७ वर्षकी नायिकाले आफ्नो एन्जियोप्लास्टि गरिएको पनि बताइन् ।
आफ्नो बुवासँगको फोटो पोस्ट गर्दै उनले इन्स्टाग्राममा लेखेकी छिन्, ‘आफ्नो मुटुलाई खुसी र साहसी राख र यसले तिमीलाई त्यति बेला साथ दिनेछ जब तिमीलाई यो सबैभन्दा बढी खाँचो पर्छ, सोना’ (यो भनाई मेरो विद्वान बुवाको हो) ।’
यो सँगै उनले थपेकी छिन्, ‘केही दिन अघि मेरो हृदयाघात भयो । एन्जियोप्लास्टी पनि गरियो । यस्तै, मेरो कार्डियोलोजिस्टले मेरो मुटु धेरै ठुलो छ भनेर भन्नुभयो ।’
‘समयमा नै सहयोग गर्ने धेरैलाई धन्यवाद भन्न चाहन्छु,’ उनले थपिन् ।
‘यो पोस्टमार्फत् मेरा प्रियजन र प्रशंसकलाई खुसीको खबर सुनाउन चाहन्छु कि अहिले सबै कुरा ठिक छ,’ उनले लेखेकी छिन् ।
उनको यो पोस्टले धेरैलाई चकित पारेको छ ।


