चितवन, १७ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेमाथि नागरिकताको विवादका कारण सांसद पद खुस्किएपछि उनको निर्वाचन क्षेत्रमा चुनाव हुने भएको छ । चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा सहभागी हुन लागि १८ दल दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।
आगामी वैशाख २ गतेमा हुने उपनिर्वाचनका लागि आयोगले यही फागुन १० गतेदेखि १६ गतेसम्म दल दर्ताको समय तोकेको थियो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले एक हप्ताको समयसीमा १८ दल दर्ता भएको बताए ।
नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लगायतका दलहरुले दर्ता गरेका छन् ।
त्यस्तै नेपाल मजदुर किसान पार्टी (नेमकिपा), राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी, हाम्रो नेपाली पार्टी, नेपाली कांग्रेस (बीपी) मंगोल नेसनल अर्गनाइजेसन, राष्ट्रिय नागरिक पार्टी, राष्ट्रिय जनमुक्ति, नेकपा माओवादी समाजवादी, पुनर्जागरण पार्टी, मौलिक जरोकिलो, राष्ट्रिय मुक्ति आन्दोलन र जय जनमुक्ति पार्टीले पनि दल दर्ता गराएको आयोगले जनाएको छ ।
गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट रास्वपाका अध्यक्ष लामिछाने प्रतिनिधि सभामा निर्वाचित भएका थिए । तर गत माघ १३ गते रविको सांसद पद सर्वोच्च अदालतले खारेज गरिदिएको थियो । लामिछाने अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा नगरेको ठहर गर्दै अदालतले उनको सांसद पद खारेज गरेको हो । माघ १५ गते उनले पुनः नेपाली नागरिकताको प्रमाणपत्र लिएका थिए ।
६ महिनाभन्दा बढी कार्यकाल रहँदै सांसदको पद रिक्त हुन गएपछि उपनिर्वाचन गर्नुपर्ने व्यवस्था रहेको अनुसार आगामी वैशाख २ गते चितवन २ मा उपनिर्वाचन हुन लागेको हो । आयोगले सार्वजनिक गरेको तालिका अनुसार आगामी चैत २० गते उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ ।



