२ रुपैयाँको चेकमा ५१२ किलो प्याज !


काठमाडौँ, १६ फागुन । भारतीय सामाजिक सञ्जाल प्रयोगकर्तामाझ अहिले सोलापुरका किसान राजेन्द्र चव्हाण चर्चामा रहेका छन् ।

उनी चर्चामा रहनुको कारण हो– ५१२ किलो प्याज बेच्दा हात परेको २ रुपैयाँको चेक वाला तस्विर अहिले भाईरल बनेको छ ।

स्थानीय तरकारी बजारमा ५१२ किलो प्याज दिएपछि व्यापारी सूर्या ट्रेडर्सले उनलाई २ रुपैयाँको चेक थमाएको थियो । त्यो चेक साट्नका लागि उनी केही दिनपछि सूर्या ट्रेडर्समै आउनु पुगे ।

महाराष्ट्र प्रदेशको संसदमा बजेट सत्र सुरु हुनअघि आयोजित पत्रकार सम्मेलनमा विपक्षी दलका नेता अजित पवारले पनि यो मुद्दालाई उठाएका थिए ।

त्यसलगत्तै महाराष्ट्रका उपमुख्यमन्त्री देवेन्द्र फडणवीसले राजेन्द्रलाई २ रुपैयाँको चेक दिने सूर्या ट्रेडर्सको लाइसेन्स रद्ध गरिदिएको बताए । फडणवीसले भने, ‘राजेन्द्र चव्हाणले ५१२ किलो प्याज बेचे, भाउ तलमाथि हुन्छ, तर उनलाई २ रुपैयाँ मात्र प्राप्त भयो, ढुवानी भाडा कट्टा गरियो, यस्तो नहुनु पर्ने थियो, जसले गर्दा सूर्या ट्रेडर्सको लाइसेन्स रद्ध गरिएको छ ।’

खासमा महाराष्ट्रको थोक कृषि बजारमा अहिले प्याजको मूल्य किलोको ६–७ रुपैयाँ छ, खुद्रा बजारमा उपभोक्ताले २० देखि ३० रुपैयाँमा खरिद विक्रि हुने गरेको छ ।

फेब्रुअरीको अन्तिममा बजारमा मनसुनी प्याज आउँछ । जसलाई धेरै दिन भण्डारण गर्न सकिँदैन । भण्डारण गर्नका लागि सुकेको प्याज नै चाहिन्छ । तर मनसुनी प्याज नसुकेका कारण किसानले चाँडै बेच्छन् । जसले गर्दा प्याजको मूल्य घटेको छ । जसको असर चव्हाणजस्ता किसानलाई पर्दै आएको छ ।

सोलापुर बोरगाउँका चव्हाणले १० बोरा प्याज कृषि उत्पादन मण्डी समितिका व्यापारी सूर्या ट्रेडर्सलाई बेचेका थिए, जसको तौल ५१२ किलो थियो । उनको प्याज व्यापारीले १ रपैयाँ किलोमा बेचेका थिए । तरकारी बजारमा ढुवानी, ओसार पसार र तौल गर्ने नाममा ५१० रुपैयाँ खर्च कट्टा गरेर होलसेल व्यापारीले उनलाई २ रुपैयाँको चेक दिएको थियो । जुन चेक साट्न उनी ८ मार्चमा फेरि मण्डीमै आउनु पर्ने थियो ।

परिवारका सबै सदस्यको सहयोगमा खेती गर्दै आएका चव्हाणले प्याज बेच्न बजार पुग्दा बजारमा प्रतिकिलो ८–१० रुपैयाँ मूल्य पाउने आश बोकेर गएका थिए । तर बजारमा पुग्दा प्रतिकिलो १ रुपैयाँ मात्र भाउ रहेको देख्दा उनको मनै खिन्न भयो । त्यसले उनको खर्च धान्नै धौँ धौँ पर्ने सोच्दा उनी दुखित भए ।

खेतीमा लागेको खर्च नै नउठ्ने भएकाले किसानलाई सरकारले अनुदान दिनु पर्ने भन्दै उनले माग समेत गरे । – बीबीसी हिन्दीबाट

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार