कञ्चनवनमा श्रद्धालुहरुले मनाए होली


जनकपुरधाम, १५ फागुन । भगवान राम र माता सीताले त्रेता युगमा रंग अबिर दलेर होली खेलेको सम्झनालाई मिथिला मध्यमा परिक्रमामा सहभागीहरुले ताजा गरेका छन् ।

परिक्रमामा मिथिला विहारीको डोला संगै कञ्चनवन पुगेका परिक्रमामा सहभागीहरुले एक अर्कालाई रंग अबिर दलेर होेली पर्व मनाएका छन् । कञ्चनवनमा परिक्रमामा सहभागीहरुले रंग अबिर खेलेपछि मिथिलाञ्चलमा होली पर्वको आगमन भएको मानिन्छ ।

कञ्चनवनमा साभुसन्त सहित श्रद्धालुहरु सबै होलीमा रमेका थिए । परिक्रमाको डोला कञ्चन वनमा पुगेपछि होली खेल्ने परम्परा रहेको संस्कृतिविदहरु बताउँछन् । त्यहाँको होली मिथिलाञ्चलका अधिकांश मठ मन्दिरका महन्थ, सामाजिक, सांस्कृतिक, राजनीतिक क्षेत्रमा आवद्ध व्यक्तिहरुको सहभागिता हुन्छ ।

फागुन शुक्ल प्रतिपदाबाट शुरु हुने मिथिला मध्यमा परिक्रमा फागुन शुक्ल सप्तमीमा मिथिला विहारीको डोलासंगै ध्रुवकुण्ड बाट कञ्चनवन पुग्ने गर्छ । यहाँ इच्छावती गंगा र वीरजा गङ्गाको संगमस्थल समेत रहेको छ । इच्छावती नदीले भगवान रामलाई होली उत्सव मनाउन सहयोग गरेको जनविश्वास रहेको पाइन्छ । यो स्थानमा भगवान राम र माता जानकीले होली पर्व मनाएका थिए । यहाँ परिक्रमामा सहभागीहरु रंग अबिरबाट होली खेल्ने गर्छन ।

एकातिर रंगअबिर, अर्को तर्फ होरैया गान, फेरी हजारोको सहभागिताले कञ्चनवनको होलीलाई आनन्दमय बनाउँछ ।
जनकपुरधामको हनुमान नगरबाट डोलासहित हिडेको परिक्रमाको डोला कल्याणेश्वर, गिरिजास्थान, मटिहानी, जलेश्वर, मडै, धु्रवकुण्डपछि कञ्चनवन पुगेको हो ।

 

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार