एजेन्सी, १५ फागुन । दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोदियालाई भारतको ‘सेन्ट्रल ब्यूरो अफ इन्भेस्टिगेसन’ (सीबीआई) ले पक्राउ गरेको छ ।
दिल्लीको मदिरा नीतिमा भएको कथित घोटालाका बारेमा सीबीआईले छानबिन गरिरहेको थियो ।
आइतबार नै दिल्लीका उपमुख्यमन्त्री सिसोदियालाई सीबीआईले सोधपुछका लागि बोलाएको थियो । सीबीआईको कार्यालय पुग्नु अघि नै सिसोदियाले आफूलाई गिरफ्तार गर्न सक्ने आशंका व्यक्त गरेका थिए ।
दिल्लीको सत्तारुढ दल आम आदमी पार्टीले सिसोदियाको गिरफ्तारीलाई ‘तानाशाही’ को संज्ञा दिएका छन् । आम आदमी पार्टीले ‘लोकतन्त्रका लागि कालो दिन’ भएको पनि उल्लेख गरेको छ ।
बयानका लागि सीबीआई अफिस जानुअघि उपमुख्यमन्त्री सिसोदियाले घरमै आमाको आशीर्वाद लिएका थिए । त्यसपछि सिसोदिया आफ्ना समर्थकहरूको साथ सीबीआई कार्यालय पुगेका थिए ।


