काठमाडौं, १४ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कतारको दोहा जाने भएका छन् । उनी अतिकम विकसित मुलुकहरु (एलडिसिज) को पाँचौं सम्मेलनमा सहभागी हुन यही १९ फागुनमा त्यसतर्फ जान लागेका हुन् ।
प्रधानमन्त्री दाहाल नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सम्मेलनमा सहभागी हुन १९ फागुनमा त्यसतर्फ जाने र २२ फागुनमा स्वदेश फर्कने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता सेवा लम्सालका अनुसार सम्मेलनका क्रममा प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघका केही कार्यक्रममा पनि सहभागी हुनेछन् । सो अवसरमा उनी साइडलाइन बैठक र द्विपक्षीय बैठकमा सहभागी हुनेछन् ।
दोहामा रहँदा प्रधानमन्त्री दाहाल नेपाली दूतावासले आयोजना गर्ने कार्यक्रम र नेपाली समुदायसँगको कार्यक्रममा पनि सहभागी हुने छन् ।
एलडिसिजको पाँचौँ सम्मेलनका क्रममा विषयगत आठ गोलमेच बैठक हुने र त्यसमध्ये तीन बैठकमा नेपाली प्रतिनिधिमण्डलले सहभागिता जनाउने छ ।
२० फागुनमा एलडिसिजको अध्यक्ष राष्ट्र मलावीले आयोजना गर्ने सम्मेलनलाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने छन् । सम्मेलनको जनलर डिबेटका क्रममा प्रधानमन्त्री दाहालले २६ औँ वक्ताका रुपमा राष्ट्रिय सम्बोधन गर्ने कार्यक्रम छ ।
नेपाली प्रतिनिधिमण्डलले अतिकम विकसित मुलुकबाट स्तरोन्नतिमा रहेका नेपाल, बंगलादेश र लाओसबीच हुने साइड इभेन्टमा समेत सहभागिता जनाउनेछ ।


