जनकपुरधाम, १३ फागुन । नेपाली कांग्रेसका प्रदेशसभा सदस्य रामसरोज यादवले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव ‘बेठुवा’ (बोलीको ठेगान नभएको) व्यक्ति रहेको आरोप लगाएका छन् ।
शनिबार जनकपुरधामस्थित महेन्द्र नारायण निधि मिथिला सांस्कृतिक केन्द्रमा आयोजित स्व. महेन्द्र नारायण निधिको १०१औं जन्मजयन्ती समारोहमा बोल्दै उनले यस्तो आक्रोश व्यक्त गरेका हुन् ।
कार्यक्रममा मुख्यमन्त्री यादवले प्रमुख अतिथीको रुपमा सहभागी हुने वचन दिएपनि अन्तिम समयमा नआउँदा मुख्यमन्त्री यादवलाई प्रदेशसभा सदस्य यादवले ‘बेठुवा’ को संज्ञा दिंदै उनीप्रति यस्तो टिप्पणी गरेका छन् ।
प्रदेशसभा सदस्य यादवले मुख्यमन्त्रीलाई बेठुवा भन्दै बिना सेडुलको मुख्यमन्त्री रहेको आरोपसमेत लगाए ।
मुख्यमन्त्री यादवलाई कार्यक्रममा प्रमुख अतिथीको रुपमा आमन्त्रण गरिएपनि उनी नआएपछि कांग्रेसका अन्य नेताहरु पनि आक्रोशित देखिए । कार्यक्रममा कांग्रेस नेता स्मृती नारायण चौधरीले मुख्यमन्त्री यादवको सम्पूर्ण कार्यक्रम कांग्रेसले बहिष्कार गर्नुपर्ने बताए ।
पार्टीको प्रमुख सचेतक कुमरकान्त झा, जनकपुरधामका पूर्वमेयर बजरंग प्रसाद साह, नेता जगत सुन्दर साह, प्रेस युनियनका उपाध्यक्ष अनिल कर्ण सहितकाले स्व. निधिको स्मरणमा बनाइएको सांस्कृतिक भवनमा प्रहरीले कब्जा गरेको भन्दै छिट्टै खाली गराएर सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिए ।


