काठमाडौं, १३ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिएको छ ।
राप्रपाको पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्य सम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।
हाल देखिएको सत्ता परिवर्तनको प्रवृत्ति र प्रक्रिया वर्तमान संविधानको संरचनामा निहित अस्थिरताको स्वभाविक चरित्र रहेको ठहर गर्दै राप्रपा सरकारबाट बाहिरिएको हो ।
परिवर्तित सन्दर्भमा राप्रपा सत्तामा रहिरहनु अनुपयुक्त हुने ठहर गर्दै आजबाटै सरकारलाई दिएको समर्थन फिर्ता लिई सरकारबाट बाहिरिने निर्णय गरेको राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिए ।
साथै, प्रदेश सरकारमा पनि राप्रपाको यसै बमोजिमको दृष्टिकोण रहेकाले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने र प्रदेश सरकारबाट समेत बाहिरिने निर्णय गरिएको उनले बताए ।
वर्तमान सत्ता सहकार्यमा आकस्मिक परिवर्तन भई मुलुक पुनः सत्ता केन्द्रित अस्थिरता तर्फ धकेलिएको राप्रपाको दाबी छ ।



