जनकपुरधाम, १३ फागुन । जनकपुरधाम स्थित एक ऐतिहासिक मन्दिरमा चोरी भएको छ ।
मिथिला माध्यमिकी परिक्रमामा साधुसन्त तथा श्रद्धालु भक्तजनहरु व्यस्त रहेको समयमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १२ स्थित हनुमानगढीमा रहेको हनुमान मन्दिरमा हनुमान भगवानको मुकुट, दानपेटिकालगायत चोरी भएको मन्दिरका पुजारी प्रमोद दासले जानकारी दिए ।
त्यस्तै देवपुरा रुपैठा स्थित काशी भुईस्थानमा रहेको हनुमान मन्दिरमा पनि चोरहरुको एक समुहले चोरी प्रयास गरेको थियो । तर मन्दिरका पुजारीलगायतकाहरुले मध्यरातमा चोर्न आएका चोरहरुले मन्दिरको मुलढोका फोड्ने क्रममा आवाज आएपछि उनीहरुले हो–हल्ला गर्दै चोरलाई धपाएका थिए ।
मिथिला माध्यमिकी परिक्रमाको आरम्भ ठेरा कचुरी स्थित मन्दिरबाट भएपछि पहिलो विश्रामस्थलको रुपमा हनुमानगढी स्थित हनुमान मन्दिर नै हो । यहाँ राम–जानकीको डोलासहित पदयात्रामा रहेका सैकडौँका संख्यामा श्रद्धालु भक्तजनहरु एक रात विश्राम गरि कल्याणेश्वरका लागि प्रस्थान गर्छन् ।
ऐतिहासिक धार्मिक हनुमान मन्दिरमा चोरी हुनुलाई स्थानीयवासीले गम्भिररुपमा लिएका छन् । त्यहाँ रहेका साधुसन्त तथा स्थानीयवासीहरुले प्रहरीसँग तत्काल चोरलाई पक्राउ गरि कारवाही गर्न माग गरेका छन् ।


