विद्युत प्राधिकरण मौलापुरका कर्मचारी कार्यालय बन्द गरेर आन्दोलनमा


जनकपुरधाम, १२ फागुन । रौतहटस्थित नेपाल विद्युत प्राधिकरण मौलापुर वितरण केन्द्रका कर्मचारीहरुले कार्यालयबाट प्रवाह हुने सेवा अनिश्चितकालका लागि बन्द गरेका छन् ।

गत फागुन ५ गते शुक्रबार स्थानीय त्रिभुवन साह उर्फ अमर साह र धिरज पाण्डेको नेतृत्वमा प्राधिकरणको कार्यालयमा पुगेको टोलीले कर्मचारीमाथि हातपात गरेको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।

अमर र धिरजको नेतृत्वमा करिब २०/३० जनाको समुहमा पुगेका उनीहरुले सो कार्यालयका सहायक इन्जिनियर महेन्द्र चौधरीलाई विद्युत प्राधिकरणको विनियमावली विपरित अनाधिकृत रुपमा बिना मिटर डाइरेक्ट (हुकिङ्ग) लाइन जडान गर्न दबाब दिएका थिए ।

चौधरीले त्यस्तो गर्न नमान्दा उनीहरुले उनलाई कुटपिट तथा गालिगलौज गर्दै अपहरणशैलिमा जबर्जस्ती गाडीमा राखेर लगी अनाधिकृत रूपमा डाईरेक्ट (हुकिङ्ग) लाइन जडान गराएका थिए ।

कर्मचारीहरुले घटनामा संलग्न व्यक्तिहरुलाई हदैसम्मको कारवाहीका लागि प्राधिकरणको स्थानीय कार्यालयमार्फत जिल्ला प्रहरी कार्यालय रौतहटमा फागुन ८ पेश गरेको किटानी जाहेरी हालसम्म पनि दर्ता नभएको र घटनाका दोषीहरुलाई कुनै कारवाहीसमेत नभएकोले कर्मचारीहरु बाध्य भएर कार्यालय बन्द गरि आन्दोलित बनेका छन् ।

सो घटनामा संलग्न व्यक्तिहरुलाई कारवाही नभएसम्म नेपाल विद्युत प्राधिकरण मौलापुर वितरण केन्द्रबाट प्रवाह हुने अतिआवश्यक सेवाबाहेक सम्पूर्ण सेवाहरु अनिश्चितकालका लागि बन्द गरिएको हो ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार