अमेरिका, १२ फागुन । हिउँ र शक्तिशाली आँधीका कारण एरिजोनादेखि वायोमिङसम्मको जनजीवन कष्टकर बन्दै गएको छ ।
विमानहरू रद्द भएका छन् भने राजमार्गहरू पनि बन्द छन् । विद्युतिय आवासहरूमा प्रकाश र न्यानो नहुँदा सयौँ हजार अमेरिकीको जनजीवन कष्टकर बनेको हो ।
प्रतिकूल मौसमका कारण राजमार्ग बन्द हुँदा गाडीमा नै मानिसहरु फसेका छन् । सडकमा बाक्लो हिउँ जमेकाले सवारी साधन सञ्चालन नगर्न अधिकारीहरूले चेतावनी समेत दिएका छन् । दशकौँपछि दक्षिणी क्यालिफोर्नियाको अवस्था अझ खराब भएको हो । परिस्थिति सामान्य हुन अझै केही दिन लाग्न सक्ने अधिकारीहरुको भनाई छ ।
लगातारको हिमपात र आँधीका कारण विद्यालय, कार्यालय, सदनलगायतकाहरु पनि बन्द छन् । मिनेसोटा विधायिका पनि बन्द छ । यात्रामा निस्केकाहरू उडान नहुँदा विमानस्थलमा अलपत्र नै परेका छन् । मौसम अनुकूल नहुँदा एक हजार छ सयभन्दा बढी उडानहरु रद्द भएका छन् ।
शक्तिशाली आँधीले क्यालिफोर्नियामा सबैभन्दा ठूलो क्षति भएको छ भने जताजतै रूख ढलेका छन् ।
सन् १९८९ पछि पहिलोपटक लस एन्जलस, भेन्चुरा र शान्ताबरबरा काउन्टीका पहाडठमा बिहीबार बिहान चार बजेदेखि हिमपातको चेतावनी दिइएको छ । यो सप्ताहान्तमा व्यापक हिमपात हुने मौसमविद्ले जनाएको छ ।
मिनेसोटा र विस्कान्सिनमा हिमपातसँगै वर्षा हुने राष्ट्रिय मौसम विज्ञान विभागले जनाएको छ ।



