यू–१९ विश्वकप छनोटमा नेपाल– सिंगापुर भिड्दै


काठमाडौँ, १२ फागुन । युएईमा आजदेखि सुरु हुन लागेको आईसीसी यू–१९ विश्वकपको एसिया छनोटमा नेपालले आज सिंगापुरसँग खेल्नेछ । नेपाल र सिंगापुरबीच भएको खेल नेपाली समय अनुसार बिहान पौने ११ बजे अमजानमा सुरु हुने जनाइएको छ ।

सन् २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकपमा छनोट हुने लक्ष्यमा रहेको नेपाल पहिलो खेल जित्दै सुखद सुरुवात गर्ने योजनामा रहेको छ ।

राष्ट्रिय टोलीबाट खेलिसकेका देव खनालको कप्तानीमा नेपाल मैदान उत्रिनेछ । यसअघि गुलशन झालाई कप्तान नियुक्त गरेपनि लिग टुका लागि गुलशनलाई सिनियर टोलीमै समावेश गरिएपछि देव यू–१९ को नयाँ कप्तान चुनिए ।

जगत टमटाको प्रशिक्षणमा रहेको नेपाली टोली ८ वर्षपछि यू–१९ विश्वकपमा पुग्नेमा लक्ष्यमा रहेको छ ।

छनोटमा नेपाल र आयोजक युएईसहित सिंगापुर, कुबेत, हङकङ र मलेसियाले प्रतिस्पर्धा गर्नेछन् । राउण्ड रोविन लिगको खेलपछि शीर्ष स्थानमा रहने टोली अर्को वर्ष हुने यू–१९ विश्वकपमा छनोट हुनेछ । आजै युएई र मलेसिया तथा हङकङ र कुवेतबीच पनि खेल हुने जनाइएको छ ।

नेपालले दोस्रो खेल २५ फेब्रुअरीमा कुबेतसँग र तेस्रो खेल २७ फेब्रुअरीमा हङकङसँग खेल्नेछ । यस्तै मलेसियासँग २८ फेब्रुअरीमा र अन्तिम खेल घरेलु टोली युएईसँग २ मार्चमा खेल्ने जनाइएको छ ।

नेपाली टिममा देव खनाल (कप्तान), आकाश त्रिपाठी, अर्जुन कुमाल, दिपक बोहरा (क), दिपक बोहरा (ख), उत्तम थापा मगर, दिपक डुम्रे, दिपेश कंडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, सुबास भण्डारी, विशाल विक्रम केसी, मिलन बोहरा र आकाश चन्द रहेका छन् ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार