काठमाडौँ, १२ फागुन । राष्ट्रपति पदको साझा उम्मेदवार चयनका लागि सक्रिय राजनीतिक दलका शीर्ष नेताहरु आज निर्णायक वार्तामा बस्दैछन् ।
सरकारको नेतृत्वकर्ता नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि वार्ता गर्ने भएका छन् । त्यस अघि नेपाली कांग्रेससँग पनि वार्ता गर्ने जनाइएको छ ।
जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र श्रेष्ठले कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जसपाको संयुक्त बैठक बस्ने तयारी भइरहेको जनाएका छन् । बिहीबार माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको संयुक्त बैठक बसेको थियो । सोही बैठकको अनुसार कांग्रेससँग पनि वार्ता गर्ने सहमति गरेको हो । आजको बैठकले कांग्रेस नेतृत्वको पाँचदलीय गठबन्धन ब्यूँताउने तयारीलाई औपचारिकता दिने नेताहरु त्यारीमा जुटेको रुपमा पनि अथ्र्याइएको छ ।
कांग्रेससहितको बैठकबाट राष्ट्रपतिको साझा उम्मेदवार चयन गर्नेसँगै पुरानो सत्ता गठबन्धन व्युँताउने विषयमा छलफल हुने भएको एक स्रोतले बताए । २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि १३ गते मनोनयन दर्ताको कार्यक्रम छ । सोही अनुरुप आज दलहरु साझा उम्मेदवारको टुंगो लगाउने प्रयासमा रहेका छन् ।
प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओलीसँग पनि भेटवार्ता गर्ने भने पनि त्यो औपचारिकतामा मात्र सीमित हुनसक्ने सम्भावना प्रवल रहेको छ । एमालेका अध्यक्ष ओलीले अहिलेको सत्ता गठबन्धन तोडिने संकेत भने गरिसकेका छन् ।



