उच्च अदालत जनकपुरमा कर्मचारी र न्यायाधीश अभावले न्याय सम्पादन प्रभावित


जनकपुरधाम, ११ फागुन । उच्च अदालत जनकपुरमा कर्मचारी र न्यायाधीश अभावले न्याय सम्पादन प्रभावित भएको छ ।

उच्च अदालत जनकपुरले जनशक्तिको अभावमा मुद्दा फैसलाको काम अपेक्षा गरेअनुसार अघि बढ्न नसकेको जनाएको हो ।

उच्च अदालत जनकपुरका उपरजिष्ट्रार उद्धव ढोंडारीले जनशक्तिको व्यवस्थापनमा ढिलाई हुँदा मुद्दा फैसलाको काम प्रभावित भएको बताएका छन् ।

उनले यहाँ १२ जना न्यायाधीशको दरबन्दी रहेपनि ७ जना मात्रै कार्यरत रहेको जानकारी दिए । न्यायाधीश अभावका कारण उच्च अदालत जनकपुरमा दैनिक ६ वटा बेन्चमा ३ वटा बेन्च मात्रै बस्दै आएको उनले बताए ।

कार्यसम्पादनका लागी आफुहरु बिहान ७ बजे अदालत आउने र बेलुकी ६ बजेसम्म सेवा दिने गरेको ढोंडारीले बताए । उनले दैनिक ३ सयको संख्यामा सेवाग्राही आउने गरेपनि ६०÷६५ वटासम्म मात्र मुद्दाको पेशी हुनेगरेको जानकारी दिए ।

५ जना न्यायाधीशको पदपूर्ती गरिए आगामी दिनमा न्यायिक निरुपणलाई शिघ्रता दिन सकिने उनको विश्वास छ । स्वच्छ सुनुवाइ र छिटोछरितो न्याय सम्पादनका लागी समयबद्ध तालिका बनाएर कार्ययोजनासहितको न्याय निरुपणमा लाग्ने उनले बताए ।

वैकल्पिक ऊर्जाको अभाव

उच्च अदालत जनकपुरमा वैकल्पिक ऊर्जाको अभावका कारण कामकाज प्रभावित हुने गरेको छ ।

गर्मी मौसमको सुरुवात भएसँगै अब विद्युत कटौति पनि बढ्ने भएकोले उच्च अदालत जनकपुरको कामकाज प्रभावित हुने देखिन्छ ।

उच्च अदालत जनकपुरका उपरजिष्ट्रार उद्धव ढोंडारीले विद्युत कटौति हुँदा अति आवश्यक बयानहरु कर्मचारीको व्यक्तिगत ल्यापटपबाट लिनुपर्ने बाध्यता रहेको सुनाए । उनले यहाँ सोलार भएपनि ब्याट्रीहरु पूरानो हुँदा कामै नलाग्ने अवस्थामा पुगेको बताए ।

उनले पेपरलेस कामहरु जस्तै आदेश तयार गर्ने, फैसला लेखन कार्यलगायतका कामहरु विद्युत कटौति हुँदा प्रभावित हुने गरेको जानकारी दिए ।

उनले भने, ‘विद्युत कट्दा कार्यालयको अधिकांश कोठामा पंखासमेत चल्ने अवस्था हुँदैन । कर्मचारीहरु गर्मीमै काम गर्न बाध्य हुन्छन् । हामीलाई धेरै पीडा छ । सुन्ने कोही छैनन् ।’

यसअघि अर्थ मन्त्रालयले मेशिनरी खरिद, मरम्मत सम्भारलगायतका शीर्षकमा ३ लाख रुपैयाँ बजेट विनियोजन गरेपनि त्यसबाट अधिकांश पैसा फिर्ता गइसकेको एक कर्मचारीले बताए ।

त्यस्तै, जनकपुरधाम उपमहानगरपालिकाले पनि फोटोकपी मेशिन, ब्याट्री र एसी खरिदलगायतका लागि १२ लाख रुपैयाँ उपलब्ध गराउने भनिएपनि उपमहानगरका लेखा अधिकृत नन्दकुमार झा निलम्बनमा पर्दा समस्या भएको उपरजिष्ट्रार ढोंडारीले बताए ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार