हात्तीपाइले रोगविरुद्धको औषधि आजदेखि खुवाइदैँ


जनकपुरधाम, ११ फागुन । धनुषामा हात्तीपाइले रोगविरुद्धको औषधि आजदेखि खुवाइने भएको छ ।

जिल्लामा हात्तीपाइ रोगको प्रकोप बढ्दै गएपछि प्रतिरोधात्मक औषधि घर–घरमा गएर खुवाइने व्यवस्था गरिएको हो ।

फागुन ११ गतेदेखि स्वास्थ्यकर्मीहरू घरघरमा पुगेर ३ वर्षदेखि माथि उमेरका सबैलाई उचाइ, वजनअनुसार औषधि खुवाइने जिल्ला स्वास्थ्य कार्यालय धनुषाले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय धनुषाका स्वास्थ्य अधिकृत शिवजी दासले दुई वर्ष मुनिका बालबालिका, गर्भवती महिला, ७ दिनसम्मका सुत्केरी, छारे रोगी, सिकिस्त बिरामी तथा २४ घण्टा अगाडी ज्वरो आएका व्यक्तिले मात्र औषधि खान नमिल्ने उनले बताए ।

महोत्तरीमा हात्तीपाईले रोगको विरामी फेला परेपछि धनुषामा समेत औषधि खुवाउने अभियान सञ्चालन गरिएको हो ।

स्वास्थ्यकर्मीहरूको अनुसार हात्तीपाइले रोगको इपिडेमियोलोजी समयमा गर्न सकिएन भने यसले भयावह रूप लिन सक्छ । हात्तीपाइले रोगको धेरैजसो संक्रमण लक्षण विनाको हुन्छ भने पछि गएर अङ्ग सुनिने पनि गर्दछ ।

कतिपयमा अण्डकोष, केहीमा खुट्टा, केहीमा हात, केहीमा स्तन र शरीरका अन्य अङ्गहरू सुनिने स्वास्थ्यकर्मीहरूको भनाइ छ । यो सुनिएपछि उपचार समेत कमै हुने गरेको छ ।

धनुषा, महोत्तरी र सिन्धुली गरि तीन जिल्लाको इमप्लिटेशन युनिट रहेकाले महोत्तरीमा हात्तीपाईले रोग फेला परेपछि युनिट नै फेल भएको निष्कर्ष निकाल्दै पुनः अभियान चलाउन थालिएको हो ।

स्वास्थ्यकर्मीहरूको प्रत्यक्ष सहभागिता तथा निगरानीमा हात्तीपाईले रोगविरुद्धको तीन प्रकारको औषधि खुवाइने छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार