जनकपुरधाम, १० फागुन । सिरहाबाट दिनदहाडै प्रहरीको हतियारसहित ९ लाख रुपैयाँ लुटपाट गरिएको छ ।
बुधबार दिउँसो जिल्लाको मिर्चैया–कल्याणपुर सडक खण्डस्थित कटहा पुल नजिकैबाट मनि ट्रान्सफरका कर्मचारीको साथबाट लुटेराले ९ लाख रुपैयाँ लुटेका हुन् ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशराज पाण्डेले ज. ६ प. ४२५६ नम्बरको मोटरसाइकलमा सवार भई मिर्चैयाबाट कल्याणपुरतर्फ गईरहेका कल्याणपुरस्थित राजाराम मनि ट्रान्सफरका कर्मचारीको साथबाट ९ लाख रुपैयाँ लुटपाट गरिएको जानकारी दिए ।
उनले घटनाको थप विवरण आउन बाँकी रहेको बताए । डीएसपी पाण्डेले अहिले खोजतलासमा लागेकाले थप विवरण पछि दिने बताए ।
लुटेराले प्रहरीको सुरक्षा लिएर गईरहेका मनि ट्रान्सफरका कर्मचारीको साथबाट रकमसहित प्रहरीको हतियार समेत लगेको बताइएको छ ।
लुटेरा खोज्न सिरहाका हरेक सडक खण्डमा प्रहरी परिचालन गरिएको छ ।



