काठमाडौं, १० फागुन । डीआईजी अशोक सिंहले राजीनामा दिएका छन् । बुधबार प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखामा पुगेर उनले राजीनामा बुझाएका हुन् ।
उमेर विवादका कारण बर्खास्तमा पर्ने अवस्था आएपछि सिंहले त्यसअघि नै राजीनामा बुझाएको प्रहरी प्रधान कार्यालय उच्च स्रोतले पुष्टि गरेको छ ।
राजीनामाअघि सिंहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलाई भेटेका थिए । कानुनी परामर्शसमेत गरेका उनलाई कानुनविदले मुद्दा मामिलामा लाग्नुभन्दा राजीनामा दिनु उचित हुने राय दिएपछि यो निर्णय लिएका हुन् ।
सिंहको जन्म मिति फरक फरक रहेको लगायत आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि छानबिन अघि बढिसकेको छ । जन्म मिति फरक परे पनि सिंहले जन्म मितिमा कीर्ते भने गरेका होइनन् । उनको नागरिकता २०४२ जेठ २२ गते जारी भएको थियो ।
नागरिकता प्रमाणपत्र जारी हुँदा उनी १८ वर्ष पूरा भएका थिए । तर नागरिकतामा वर्ष मात्रै उल्लेख भएका कारण उनको महिना र गते जारी भएको मिति नै कायम भएको हो ।
२०५० मंसिरमा उनले आवेदन दिएका थिए । आवेदन दिँदा नै उनी २६ वर्ष पूरा भइसकेका थिए । तर उनको सिट रोलमा जन्म मिति २०२५ पुस १६ गते उल्लेख छ ।
यो जन्म मितिअनुसार उनी २५ वर्ष पुग्न एक महिना बाँकी थियो । प्रहरी नियमावली २०७१ मा जन्म मितिको बारेमा उल्लेख छ ।
सिंहको नागरिकतामा १८ वर्ष उमेर पूरा भएको मात्रै उल्लेख भएकाले उनको जन्म मिति २०२४ जेठ २२ गते कायम भएको हो । तर अर्को प्रमाण पत्रमा पूरा जन्म मिति भएको अवस्थामा त्यसलाई आधार मान्ने उल्लेख छ ।


