सप्तरी, १० फागुन । सशस्त्र प्रहरीका असईको हत्या गरेको अभियोगमा प्रहरी जवानलाई जन्मकैदको सजाय तोकिएको छ ।
जिल्ला अदालत सप्तरीका न्यायाधीश नविनकुमार जोशीको इजलाशले सशस्त्र प्रहरी जवान ३९ वर्षीय होमबहादुर खत्रीलाई जन्मकैद सजाय तोकिएको हो ।
खत्रीले सशस्त्र प्रहरी बल गण नम्बर ६ हेडक्वाटर राजविराजमा दरबन्दी भई छिन्नमस्ता गाउँपालिका–३ मोहनपुरस्थित सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट (बीओपी)मा कार्यरत ४५ वर्षीय असई सत्यनारायण यादवको हत्या गरेका थिए ।
जिल्ला न्यायाधीश श्यामबिहारी मौर्यको इजलाशले कात्तिक २२ गते खत्रीलाई पुर्पक्षका लागि कारागारमा पठाउने आदेश दिएको थियो ।
अदालतले अभियुक्त खत्रीलाई जन्मकैदका साथै ३ लाख रुपैयाँ क्षतिपूर्ति भराउने र फौजदारी कसूर पीडित राहत कोषमा २ हजार ८ सय रुपैयाँ जम्मा गराउने फैसला गरेको हो ।
बयानका क्रममा अभियुक्त खत्रीले २०७९ असोज १९ गते राति असई यादवको हत्या गरेको स्वीकारेका थिए । खत्रीले वियर खाएर यादवले आफूमाथि लाठीले हिर्काएको बताएका थिए ।
रिस थाम्न नसकी हुत्याउँदा यादवको टाउकोमा चोट लागेको र दोर्होयाएर धकेल्दा टाउको पछाडि ठोक्किएर घ्यार घ्यार गर्न थालेपछि घाँटी थिचेर हत्या गरेको खत्रीले बयानमा भनेका थिए ।


