जनकपुरधाम, १० फागुन । मिथिला माध्यमिकी परिक्रमा आज नेपाल–भारतको सिमावर्ती क्षेत्र गिरिजास्थानमा जाने भएको छ । आज कल्याणेश्वरबाट पदयात्रा गर्दै गिरिजास्थान पुग्ने छन् ।
धनुषाको ठेरा कचुरी स्थित मिथिलाबिहारी स्थानबाट सोमबारबाट सुरु भएको मिथिला मध्यमा परिक्रमा पदयात्रा हनुमानगर (हनुमानगढी)मा रात्रि विश्राम गर्दै मंगलबार बिहानै कल्याणेश्वरको लागि प्रस्थान गरेको थियो ।
मंगलबार यात्रीहरुले कल्याणेश्वर स्थान (कलना)मा विश्राम गरेर बुधबार बिहान गिरिजास्थान पुग्ने छन् ।
विश्वकै लामो धार्मिक, सांस्कृतिक ऐतिहासिक महत्व बोकेको १५ दिने मिथिला माध्यमिकी परिक्रमा फागुनको औंशीदेखि सुरु भइ पूर्णिमासम्म नेपाल र भारतको गरी १ सय ३३ किलोमिटरको दूरी तय गर्दै पुनः जनकपुरधाम पुगेर समापन हुनेछ ।
नेपाल–भारतको धार्मिक सांस्कृतिक एवं पारम्परिक सामाजिक एवं सद्भावको प्रतीक रहेको माध्यमिकी परिक्रमा पदयात्रा नेपालको धनुषा र महोत्तरीमा १३ तथा भारतमा २ गरी १५ विश्रामस्थल रहेको छ ।
अन्तगृह परिक्रमा समापनसँगै मिथिलाको जनकपुरधाम क्षेत्रमा होली मनाइन्छ ।



