काठमाडौँ, १० फागुन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले युक्रेन द्वन्द्वलाई शान्तिपूर्ण रुपमा समाधान गर्नका लागि तत्पर रहेको बताएका छन् ।
युक्रेन युद्धको एक वर्ष पुगेको अवसरमा रुसी संघीय संसद्मा बोल्दै राष्ट्रपति पुटिनले युक्रेनको डोनबास क्षेत्रको द्वन्द्वलाई शान्तिपूर्ण माध्यममार्फत् समाधान गर्न तत्पर रहेको बताएका हुन् ।
शान्ति सम्झौतामा पश्चिमा मुलुकको प्रतिबद्धता झुटा सावित भएको पनि उनले बताए । उनले युक्रेनले जैविक र आणविक हतियार जम्मा गरेको आरोप लगाए । उनले भने, ‘हामीले शान्तिपूर्ण रूपमा समस्या समाधान गर्न सबै प्रयास ग¥यौँ । तर हाम्रो पछाडि अर्कै दृश्य मञ्चन भइरहेको थियो ।’
पश्चिमाहरूले राजनीतिक हत्या र विश्वासघातको प्रयास गरेको पुटिनको दावी छ । त्यस्तै उनले पश्चिमा मुलुक र युक्रेनले नै युद्ध सुरु गरेको आरोप लगाए । अमेरिकी राष्ट्रपति जो बाइडेनले छिमेकी युद्धग्रस्त देश युक्रेन भ्रमण गरेको केही घण्टामै रुसी राष्ट्रपति पुटिनले यस्तो प्रतिक्रिया दिए ।
युक्रेन–रुस युद्धको एक वर्ष पुगेको अवसरमा अमेरिकी राष्ट्रपति बाइडेन युक्रेन पुगेका थिए । युक्रेन भ्रमणपछि पोल्याण्ड भ्रमणको क्रममा त्यहाँको राजधानी वार्सा पुगेर उनले युक्रेन युद्धबारे सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।
अमेरिकाले रुससँग युद्ध गर्नका लागि युक्रेनलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै आएको छ । एजेन्सी



