काठमाडौं, ९ फागुन । भारत दक्षिण अफ्रिकामा जारी आइसिसी महिला टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सोमबार राति सम्पन्न समूह ‘बी’ अन्तर्गतको खेलमा आयरल्याण्डलाई डकवर्थ लुइस पद्धतिमा ५ रनले हराउँदै भारत सेमिफाइनलमा प्रवेश गरेको हो ।
सेन्ट जर्ज पार्कमा टस जितेर ब्याटिङ रोजेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनायो । उसका लागि स्मृति मन्धानाले करियरकै उत्कृष्ट पारी खेलिन् । उनले ५६ बलमा ८७ रन बनाइन् । त्यसक्रममा मन्धानाले ९ चौका र ३ छक्का प्रहार गरिन् ।
उनले पहिलो विकेटका लागि शफाली वर्मा (२४) सँग ६२ र दोस्रो विकेटका लागि हरमनप्रीत कौर (१३) सँग ५२ रनको साझेदारी गरिन् ।
जेमिमा रोड्रिग्जले १९ रन बनाउँदैै टोलीलाई १५० रनमा पुर्याइन् । आयरल्याण्डका लागि लौरा डेलानीले ३ तथा ओर्ला प्रेन्डरगास्टले २ विकेट लिए ।
जवाफमा आयरल्याण्डले ८.२ ओभरमा २ विकेट गुमाएर ५४ रन बनाउँदा पानी परेपछि खेल रोकियो । जसकारण डकवर्थ लुइस नियमका अनुसार भारतलाई ५ रनले विजयी बनाइयो ।
सेमिफाइनलमा भारतले अस्ट्रेलियाको सामना गर्नेछ ।



