काठमाडौं, ९ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रपति निर्वाचनबारे केन्द्रीय कार्यसम्पादन समितिबाट निर्णय लिने भएको छ ।
राप्रपाका नेताहरूबीच राष्ट्रपति निर्वाचनमा भाग लिनुपर्ने र बहिष्कार गर्नुपर्नेमा मतभेद देखिएको छ ।
एमालेसँग निकट सम्बन्धमा रहेको राप्रपाले राष्ट्रपति निर्वाचनबारे अहिलेसम्म केही धारणा बनाइसकेको छैन । राष्ट्रपति निर्वाचनमा यसै गर्ने भन्ने भइनसकेको सो पार्टीका नेताहरूले बताएका छन् ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीसमेत रहेका राप्रपा नेता ध्रुवबहादुर प्रधानले राष्ट्रपति निर्वाचनमा पार्टी सहभागी हुने बताएका छन् ।उनले आफूहरू राष्ट्रपति निर्वाचनमा सहभागी भएरै जाने बताए ।
यता, अर्का एक नेताले पनि केन्द्रीय सरकारमा सहभागी हुने, प्रदेश सभामा सभामुख र सरकारमा सहभागी हुने अनि राष्ट्रपति निर्वाचनमा भाग लिन नहुने निर्णय गर्न नसकिने बताएका छन् ।
राष्ट्रपतिका लागि फागुन १३ मा मनोनयनका लागि निर्वाचन आयोगले मिति तय गरेको छ । राष्ट्रपति निर्वाचन फागुन २५ र उपराष्ट्रपतिको निर्वाचन चैत ३ मा हुने भएको छ ।



