काठमाडौँ, ९ फागुन । जेम्स क्यामरुनद्वारा निर्देशित हलिउडको ब्लकबस्टर फिल्म ‘टाइटानिक’ तेस्रो धेरै कमाउने फिल्मको सूचीबाट पछि परेको छ ।
‘टाइटानिक’ फिल्मलाई क्यामरुनकै अर्को फिल्म ‘अवतार ः द वे अफ वाटर’ले उछिनेको हलिउड म्यागजिन भेराइटीले जनाएको छ ।
पुस १ गतेदेखि विश्वभर रिलिज भएको ‘अवतार २’को अहिलेसम्मको कुल कमाइ २.२४३३ बिलियन डलर छ । भने ‘टाइटानिक’को कुल कमाइ २.२४२८ बिलियन डलर रहेको छ । अब ‘अवतार २’ शीर्ष स्थानमा रहेको ‘अवतार’ (२.९२ बिलियन डलर) र दोस्रो स्थानमा रहेको ‘एभेन्जर्स ः इन्डगेम’ (२.७ बिलियन डलर) भन्दा पछि तेस्रो स्थानमा परेको छ ।
दुई बिलियन डलर वा सोभन्दा बढी कमाइ गर्ने तीन वटा फिल्म मध्येका एक मात्र फिल्म निर्माता क्यामरुनले अहिलेसम्मको पहिलो, तेस्रो र चौथो सबैभन्दा ठूलो रिलिज निर्देशन गरेका छन् । ‘जेम्स क्यामरुनले बक्स अफिसमा आफूलाई पछ्याउने क्रम जारी राखेको बक्स अफिस प्रोका विश्लेषक शान रोबिन्सले बताउँदै भने, ‘कसरी आधुनिक दर्शनलाई संलग्न गर्ने भन्नेबारेमा उहाँलाई स्पष्ट रुपमा थाहा छ ।’
मौलिक ‘अवतार’जस्तै यसको दोस्रो श्रृंखलाले पछिल्लो पुस्ताका दर्शकमाझ अपील सिर्जना मात्र गरेको छैन, बरु पछिल्लो विकसित प्रविधिको ढाँचामा फिल्म रिलिज गर्दै दर्शकलाई प्रोत्साहन पनि दिएको थियो । आईम्याक्स स्क्रिनमा फिल्मले २५ करोड डलर कमाएको जनाइएको छ ।
‘अवतार २’ उत्तर अमेरिकामा ६५७ मिलियन डलरका साथ अहिलेसम्मको ९औँ स्थानमा सबैभन्दा धेरै कमाउने फिल्म रहेको छ ।


