जनकपुरधाम, ८ फागुन । मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले नीजि अस्पताललाई सेवामुखी भएर काम गर्न आग्रह गरेका छन् ।
सोमबार जनकपुरधामस्थित मैक्स लाइफ हस्पिटलमा पूर्वाञ्चल क्यान्सर अस्पतालले आयोजना गरेको निःशुल्क क्यान्सर शिविरको उद्घाटन गर्दै सभामुख मण्डलले नीजि अस्पताललाई व्यवसायीमुखी भन्दा पनि सेवामुखि भएर समाजका लागि काम गर्न आग्रह गरेका हुन् ।
उनले नीजि क्षेत्रका संस्थाले समाजबाट व्यवसायीक रुपमा लाभ लिइरहँदा समाजप्रतिको दायित्वसमेत नबिर्सिन आग्रह गरेका छन् ।
उनले भने, ‘अहिले समाजमा नीजि अस्पताल, नीजि बैंक, नीजि विद्यालय, होटेललगायतका संस्थाहरु जथाभावीरुपमा खोलिएपनि समाजमा उनीहरुको लगानी देखिंदैन । यस्तो अवस्थामा समाजप्रतिको दायित्व भन्दा पनि नाफामुलक व्यवसायले समाजमा नकारात्मक सोचको विकास भइरहेको छ ।’
उनले नीजि संस्थाहरुले समाज विकासोन्मुख कार्यहरुमा लगानी लगाउनुपर्ने र सेवाभावले कम शुल्कमा जनतालाई सेवा दिन जरुरी रहेको बताए ।
पूर्वाञ्चल क्यान्सर अस्पतालले जनकपुरधाममा आएर क्यान्सरको रोगीहरु पत्ता लगाउने कार्य सराहनीय रहेको बताउँदै उनले सेवाभावले काम गर्नु समाजप्रति कर्तव्यबोध समेत रहेको बताए ।
स्वास्थ्य शिविरमा पूर्वाञ्चल क्यान्सर अस्पताल तथा विएनसि मेडिकल कलेजका निराजन प्रसाई, मैक्स लाइफका मेडिकल डाइरेक्टर कृष्णकुमार साह, पूर्वाञ्चल क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर वीरेन्द्र यादवलगायतकाहरु सहभागी थिए ।
यस शिविरमा ११० जना बिरामीको निःशुल्क स्वास्थ्य चेकजाँच गरिएको मैक्स लाइफ अस्पतालले बताएको छ ।








