जनकपुरधाम, ८ फागुन । आगामी चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि विद्यार्थी संगठनहरु तयारीमा जुटेका छन् ।
सोही क्रममा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल निकट लोकतान्त्रिक विद्यार्थी संघले सोमबार जनकपुरधाममा निर्वाचनलाई केन्द्रित गर्दै कमिटी गठन गरेको हो ।
त्रिभुवन विश्वविद्यालयको विभिन्न कलेजहरुमा हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई मध्यनजर गर्दै जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–८ स्थित राजर्षि जनक विश्वविद्यालयमा लोकतान्त्रिक विद्यार्थी संघका सभापति सुशान्त यादवको नेतृत्वमा ५१ सदस्यीय कमिटी गठन गरिएको छ ।
लोकतान्त्रिक विद्यार्थी संघका नगर अध्यक्ष अमित ठाकुरले स्ववियु निर्वाचनका लागि लोसपा नेपालको भातृ संगठन ‘लोकतान्त्रिक विद्यार्थी संघ’ लाई आवश्यक तयारी गर्न र विशेष रुपमा सक्रिय भई चुनाव जिताउनका लागि निर्देशन पाएबमोजिम आफूहरु तयारीमा जुटेको जानकारी दिए ।
लोकतान्त्रिक समाजवादी पार्टीको गाँउपालिका/नगर/महानगर/जिल्ला/प्रदेश समिति तथा पार्टीका सम्पूर्ण नेता/कार्यकताहरुलाई विद्यार्थी चुनाव सम्बन्धी योजना एवम् कार्यक्रम तय गरी लोकतान्त्रिक विद्यार्थी संघका साथिहरुसँग समन्वयको साथै आवश्यक पहल र सहयोगका लागि पार्टीले जारी गरेको परिपत्र अनुसार निर्वाचनमा केन्द्रित भएको उनले बताए ।
सोमबारको कार्यक्रममा लोसपा नेपाल धनुषाका सह–सचिव सुनिल श्रेष्ठ (सानु), लोकतान्त्रिक युवा संघ धनुषाका अध्यक्ष प्रशान्त झा, कार्यवाहक अध्यक्ष त्रिदेव मिश्रालगायतकाहरुको उपस्थिती रहेको थियो ।


