चैतमा विधान अधिवेशन गर्दै जसपा


काठमाडौँ, ८ फागुन । जनता समाजवादी पार्टी (जसपा) नेपालले विधान अधिवेशन गर्ने भएको छ ।

आगामी चैतमा विधान अधिवेशन गर्ने जसपा नेपालले जनाएको हो ।

काठमाडौँ स्थित केन्द्रिय पार्टी कार्यालयमा आइतबारदेखि सुरु भएको कार्यकारिणी समितिको बैठकले विधान अधिवेशन चैतको २७, २८ र २९ गते गर्ने निर्णय गरेको छ ।

पछिल्लो राजनीतिक अवस्था, राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन, विधान अधिवेशन, विभिन्न पार्टीसँग भइरहेको एकीकरणलगायतको विषयमा छलफल गर्नका लागि जसपा नेपाललको कार्यकारिणी समितिको बैठक बसेको हो ।

यस बैठकमा अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा गठन भएको विधान संशोधन मस्यौदा समितिले काम गरिरहेको र उक्त समितिले अधिवेशनअघि प्रतिवेदन तयार गर्ने कार्यकारिणी सदस्य रामसहाय यादवले जनाएका छन् ।

त्यस्तै यही फागुन २५ गते हुने राष्ट्रपतिको चुनावको विषयमा पनि बैठकमा छलफल भइरहेको छ । जनता समाजवादी पार्टी नेपाल पनि राष्ट्रिय सहमतिमा नै राष्ट्रपति बनोस् भन्ने पक्षमा रहेको जनाइएको छ ।

जसपा नेपालको बैठकमा राष्ट्रपतिको चयन राष्ट्रिय सहमतिको आधारमा हुनुपर्ने र सोही लाइनमा जसपा पनि जाने कुरामा छलफल भएको जनाइएको छ । बैठकमा गत प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा पार्टीभित्र भएको अन्तर्घातको विषयमा भइरहेको छानविन प्रतिवेदन चाँडै पेस गर्नुपर्ने विषयमा पनि छलफल भएकोसमेत भएको जसपा नेपालले जनाएको छ ।

जसपाले नेकपा (एकीकृत समाजवादी) पार्टी लगायत अन्य दलहरुसँग पनि पार्टी एकीकरणका लागि छलफल गरिरहेको समेत बैठकमा जनाएको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार