एजेन्सी, ८ फागुन । इंग्लिस प्रिमियर लिगमा भएको खेलमा म्यानचेस्टर युनाइटेड र टोटेनहमले जित्न सफल भएका छन् ।
आइतबार राति भएको खेलमा युनाइटेडले लेस्टर सिटीलाई ३–० गोलले हराउन सफल भएको थियो ।
युनाइटेडका लागि रास्फोर्डले २५ मिनेट र ५६ मिनेटमा गोल गर्दा सान्चोले ६१ मिनेटमा तेस्रो गोल गरेका थिए ।
टोटेनहमले वेस्ट ह्यामलाई २–० गोलले हराएको थियो । टोटेनहमका लागि इमर्सन रोयलले ५६ र सन मिनले ७२ मिनेटमा गोल गरेका थिए ।
युनाइटेड २४ खेलबाट ४९ अंक जोड्दै तेस्रो स्थान र टोटेनहम ४२ अंक जोडेर चौथो स्थानमा रहेका छन् ।
शीर्ष स्थानको आर्सनलको २३ खेलबाट ५४ अंक भने दोस्रो स्थानको म्यानचेस्टर सिटीको २४ खेलबाट ५२ अंक पुगेको छ ।


