एजेन्सी, ७ फागुन । दक्षिण अफ्रिकामा जारी आइसिसी महिला टी–२० विश्वकपअन्तर्गत समूह चरणमा भारतले पहिलो हार बेहोरेको छ ।पहिलो हार बेहोर्नेक्रममा भारत इंग्ल्याण्डविरुद्ध ११ रनको पराजित भएको हो ।
आफ्नो तेस्रो खेलमा इंग्ल्याण्डले दिएको १५२ रनको लक्ष्य पछ्याएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १४० रन मात्र बनाउन सक्यो ।
उसका लागि स्मृति मन्धानाले ४१ बलमा ३ चौका र एक छक्कासहित सर्वाधिक ५२ रन बनाइन् । त्यस्तै, ऋचा घोषले अविजित अविजित ४७ र जेमिमाह रोड्रिग्जले १३ रन जोडे । इंग्ल्याण्डका लागि सारा ग्लेनले सर्वाधिक दुई विकेट लिइन् ।
त्यसअघि सेन्ट जर्ज पार्क मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५१ रन बनायो ।उसका लागि नेट स्काइभर–ब्रन्टले ४२ बलमा चार चौकाको सहयोगमा सर्वाधिक ५० रन बनाइन् ।
त्यस्तै, एमी जोन्सले ४०, कप्तान हेदर नाइटले २८, सोफी एक्लेस्टोनले अविजित ११ र सोफिया डंकलेले १० रन जोडे । भारतका लागि रेणुका सिंहले ४ ओभरमा १५ रन दिएर ५ विकेट लिइन् ।
शिखा पाण्डे र दिप्ती शर्माले एक/एक विकेट हात पारे । जारी विश्वकपमा इंग्ल्याण्डको यो लगातार तेस्रो जित हो । ऊ ६ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ ।
तीन म्याच खेल्दा दुईमा जित र एक खेलमा हार बेहोरेको भारत समूह ‘२’ को दोस्रो स्थानमा रहेको छ ।


