काठमाडौं, ७ फागुन । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी रिहा भएका छन् ।
प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले आम माफी दिएपछि चौधरी आइतबार बिहान रिहा भएका हुन् ।
१३ वर्षको पुरानो आगजनी मुद्दामा दोषी ठहर भएका सांसद चौधरी गएको माघ १९ गते बाँकेबाट पक्राउ परेका थिए । उनलाई २० गते जेल चलान गरिएको थियो ।
थरूहट आन्दोलनताका बन्दको अवज्ञा गरिएको भन्दै २०६६ साल भदौ ३ गते ट्रयाक्टर जलाएको घटनामा २०७० साल वैशाख ९ गते कैलाली जिल्ला अदालतले अरुण चौधरीसहित तीनजनाविरुद्ध जनही ६ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो ।
उनी गत ४ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा कैलाली–२ बाट विजयी भएका थिए ।


