काठमाडौँ, ७ फागुन । यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले तयारी थालेको छ ।
निर्वाचन आयोगले निर्वाचन अधिकृत तोक्ने र मतदान स्थल तय गर्ने काम गरिसकेको जनाएको छ ।
पाटन उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेललाई मतदान अधिकृत तोकिएको आयोगका एक कर्मचारीले जनाएको छ ।
राष्ट्रपति पदको निर्वाचनका लागि मतदान स्थल भने नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरलाई बनाइने छ भने त्यहाँ दुइटा मतदान केन्द्र रहने जनाइएको छ ।
आयोगले जारी गरेको कार्यतालिकामा जनाए अनुसार फागुन १० गते मतदाताको नामावली सार्वजनिक गर्ने तयारी रहेको छ ।
राष्ट्रपति निर्वाचनमा संघीय संसद र प्रदेश सभाका सदस्यहरू मतदान गर्नेछन् । जसअनुसार सात वटै प्रदेशका प्रदेशसभा सचिवालयले मतदाताका नाम पठाइसकेका छन् ।
राष्ट्रपति निर्वाचनका लागि यही फागुन १३ गते उम्मेदवारीे मनोनयन दर्ता गर्नुपर्ने तालिका रहेको छ ।
दलहरूले राष्ट्रपतिमा उम्मेदवार कसलाई बनाउने भन्ने टुंगो लगाइसकेका छैनन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उनले नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले राष्ट्रपति चुनावमा राष्ट्रिय सहमतिका लागि पहल गर्ने बताउदैँ आएका छन् ।
यता नेपाली कांग्रेसले राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिने निर्णय गरिसकेपनि उम्मेदवार टुंग्याएको छैन । त्यस्तै नेकपा एमालेले पनि गत पुस १० को सहमति अनुसार राष्ट्रपति सत्ता गठबन्धनबाट साझा उम्मेदवारका रूपमा एमालेबाट उठाइने जनाउदैँ आएका छन् ।


