काठमाडौं, ६ फागुन । ‘सम्मान मिस लिम्बू’को छैटौँ संस्करणको अडिसन आइतबार काठमाडौंको अनामनगरस्थित सिलौटो कटेजमा हुन लागेको छ ।
‘बौद्धिक विकास र सौन्दर्य, पहिचान र संस्कृति’ भन्ने मूल नारासहित हुने ‘सम्मान मिस लिम्बू–२०७९’का लागि धरानमा अडिसन भइसकेको छ । १० प्रतियोगीहरु उक्त सुन्दरी प्रतियोगिताको लागि छनोट भइसकेका आयोजकले जनाएको छ ।
सो प्रतियोगितामा विभिन्न स्थानबाट ३० जना युवतीलाई फाइनलका लागि छनोट गरिनेछ । उक्त प्रतियोगितामा भाग लिनका लागि न्यूनतम एसईई उत्तिर्ण भएका, १७ देखि २६ वर्ष पुगेका लिम्बू समुदायका अविवाहित महिला हुनुपर्नेछ ।
‘मिस लिम्बू’को यस छैटौं संस्करणलाई पूर्वमिस नेपाल तथा कोरियोग्राफर सदिक्षा श्रेष्ठले कोरियोग्राफी गर्ने भएकी छन् । साथै, प्रतियोगीहरुलाई पूर्वमिस नेपाल माल्भिका सुब्बा, सुविन लिम्बू, भाषाविद् यासेली योङहाङ्, डिबी आङबुङ्लगायतले व्यक्तित्व विकासबारे ट्रेनिङ दिनेछन् ।
उक्त सुन्दरी प्रतियोगिताको विजेताले नगद ५० हजारसहित स्कुटर पाउनेछन् भने हङकङ भ्रमणको समेत अवसर दिइनेछ । यस्तै फस्ट रनरअपले १ लाख र सेकेण्ड रनरअफले ५० हजार रुपैयाँ नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।
साथै विजेताले मिस नेपाल आयोजक संस्था हिडेन ट्रेजरको मापदण्ड पूरा गरेको खण्डमा आगामी मिस नेपालमा सिधै प्रवेशको अवसर दिइने पनि आयोजकले जनाएको छ ।
प्रतियोगिताको ग्राण्ड फिनाले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा चैत ११ गते हुनेछ ।



