जनकपुरधाम, ६ फागुन । नेकपा एमालेले मधेस प्रदेशका १० जना नेतालाई कारबाही गरेको छ ।
पार्टी हितविपरीतको काम र गतिविधि गरेको भन्दै एमाले मधेस प्रदेश समितिको सचिवालय बैठकले उनीहरुमाथि कारबाही गरेको हो ।
एमालेले रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिना साहलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरि कारबाही गरेको छ भने पार्टीको प्रदेश समितिका उपाध्यक्ष रेवती पन्तसहित अन्यलाई ३ महिनाका लागि निलम्बन गरेको हो ।
आम जनता पार्टीका अध्यक्ष प्रभु साहकी पत्नीसमेत रहेकी मेयर रिना साहको पद खारेजीका लागि केन्द्रिय समितिलाई सिफारिस गरिएको छ ।
३ महिनाका लागि निलम्बित हुनेहरुमा देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानु, प्रदेश सदस्यहरु बसरुद्दिन राइन, सर्लाहीका पार्टी उपसचिव प्रकाश थापा, एमाले पर्साका जिल्ला सदस्यहरु मनोज गुप्ता, जसवन्त यादव, बासुदेव महतो थारु, रामपृत महतो थारु, पर्सा जिल्लाका पूर्वजिल्ला सदस्य मौजेलाल साह कानु लगायतकाहरु रहेको नेकपा एमाले मधेस प्रदेश समितिका प्रचारप्रसार विभाग उपप्रमुख अवधेश कामतले जानकारी दिए ।



